विवादित हिमालयन रि इन्स्योरेन्सले असार ८ गते ह्यात होटलमा भव्य भोज गर्दै, अर्थ सचिव मरासिनी र बीमा समितिका अध्यक्ष सिलवाल सहभागी हुने

६ असार २०७९, सोमबार ०८:४३

काठमाडौं । विवादित हिमालयन रि इन्योरेन्स कम्पनीले आगामी असार ८ गते अपरान्ह ५ः३० बजेदेखि काठमाडौंको ह्यात रिजेन्सी होटलमा भव्य भोजको आयोजना गर्दैछ । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्घाटन गर्ने भोज अन्तर्राष्ट्रिय स्तरको मदिरासहितको हुने सो कम्पनी उच्च स्रोतले जनाएको छ ।

बीमा सिद्धान्त विपरित हुने गरी गत बैशाख २८ गते र सरकारी लगानीको नेपाल रिले पाउँदै साढे तीन अर्बको व्यवसाय हिमालयन रिलाई दिने गरी जेठ ४ गते बीमा समितिबाट भएका दुई निर्णयले अर्थमन्त्री जनार्दन शर्मा नै कठघरामा उभिनुपर्ने अवस्था सिर्जना भएको छ । अर्थमन्त्री शर्मालाई डुबाउने गरी बीमा समितिबाट निर्णय गराउन सफल भएको अवसरमा हिमालयन रिले अर्थ सचिव मरासिनी र बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई बोलाएर भोज गर्न लागेको हो ।

हिमालयन रि इन्स्योरेन्स स्रोतका अनुसार अर्थ सचिव मरासिनी र बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उक्त भोजमा उपस्थित हुने प्रतिबद्धता जनाएकोले निमन्त्रणा कार्डमा दुवै जनाको नाम राखेर वितरण गरिएको जनाएको छ । बीमापोष्टलाई प्राप्त निमन्त्रणा कार्डमा सचिव मरासिनी र बीमा समितिका अध्यक्ष सिलवाल उपस्थित हुने अतिविशिष्ट भोजमा सहभागी हुन आह्वान गरिएको छ ।

हिमालयन रि काण्डमा अनावश्यक रुपमा मुछिएपछि अर्थमन्त्री जनार्दन शर्मा यतिबेला निकै तनावमा समेत रहेको बताइन्छ । मन्त्री शर्मालाई तनावमा पार्ने कम्पनीले आयोजना गरेको भोजमा सहभागी हुने निर्णय अर्थ सचिव मरासिनीले गर्नुको कारण खुलेको छैन । त्यसो त बीमापोष्टले यसअघि नै सचिव मरासिनीकै सहयोगमा हिमालयन रिले बीमा समितिमार्फत नेपाली बीमा क्षेत्रमा भ्रष्टाचार र सेटिङमा काम गर्दै आएको समाचार पटक पटक प्रकाशित गरिसकेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नाममा भिआईपी, भिभिआईपीहरुलाई पठाएको नियन्त्रणामा कक्टेलको समेत व्यवस्था गरिएको जनाइएको छ । निमन्त्रणा पत्रमा उक्त भोजको प्रयोजन खुलाइएको छ । स्रोतका अनुसार नेपाल पुनर्बीमा कम्पनीको व्यापार हिस्सा आधा खोस्न सफल भएको अवसरमा भोज आयोजना गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*