क्रस होल्डिङका लगानीकर्तालाई मर्जर वा शेयर बिक्रिमध्ये एक विकल्प रोज्न बीमा समितिको निर्देशन

३ असार २०७९, शुक्रबार ११:१४

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जरमा जान वा शेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही गरिने चेतावनी समेत बीमा समितिले दिएको छ ।

बीमा समितिले औपचारिक निर्णय गरी सार्वजनिक रुपमा निर्देशन दिएको भने होइन । बीमा समितिले कम्पनीलाई गोप्य पत्राचार गर्दै यस्तो निर्देशन दिएको एक बीमा कम्पनीका लगानीकर्ताले बीमापोष्टलाई जानकारी दिएका छन् ।

बीमा समितिले गत साता समान शेयरधनी भएका कम्पनीका संचालक र त्यस्ता बीमा कम्पनीका सिईओहरुलाई बीमा समितिमा बोलाएर मर्जरमा जान वा एउटा कम्पनीको शेयर रोजेर बाँकी कम्पनीको सेयर बेच्न निर्देशन दिएको हो ।

लगत्तै बीमा समितिले साझा सेयरधनी (क्रस होल्डिङ) देखिएका कम्पनीका लगानीकर्ताहरुलाई तीन बुँदे लिखित निर्देशन पठाएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । बीमा समितिले ९ बीमा कम्पनीहरुलाई यस्तो पत्र पठाइएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, आईएमई लाइफ, रिलायवल नेपाल लाइफ, ज्योति लाइफ, सूर्या लाइफ, नेपाल इन्स्योरेन्स, पु्रडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई यस्तो पत्र पठाएको बीमा समिति स्रोतले जनाएको छ ।

बीमा समितिका अनुसार नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी नेपालमा धेरै प्रवद्र्धक समान रहेका छन् । आईएमई लाइफ र रिलायवल लाइफ इन्स्योरेन्समा पनि धेरै प्रवद्र्धक समान छन् । त्यस्तै, ज्योति लाइफ र सूर्या लाइफ, ज्योति लाइफ र युनियन लाइफ इन्स्योरेन्समा समान प्रवद्र्धक सेयरधनी रहेका देखिन्छ । नेपाल इन्स्योरेन्स, पु्ररुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा पनि समान प्रवद्र्धक रहेको बीमा समितिले जनाएको छ ।

बीमा समितिले केही महिनाअघि सबै बीमा कम्पनीसँग शुन्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर लिएका लगानीकर्ताको विवरण माग गरेको थियो । उक्त विवरणको अध्ययनपछि समितिले नौ वटा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो ।

अहिले शेयर बेच्ने अवस्था नभएकोले कम्पनीहरुले मर्जरको बाटो रोज्नु उपयुक्त हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् । बीमा समितिको निर्देशन अनुसार मर्जर वा क्रस हेल्डिङ नभएका शेयर बिक्री नभएमा ऐन अनुसार नै कारवाही गर्ने समेत बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*