हिमालयन बैंकले सिभिललाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा, स्वाप रेसियोमा छलफल हुँदै

२७ जेष्ठ २०७९, शुक्रबार १३:३९

काठमाडौं । वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरका लागि फेरि बैंकहरु तयारी गर्ने तरखरमा रहेका छन् ।

राष्ट्र बैंकले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीति मार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएसँगै मर्जर तोडेर बसेको बैंकले समेत मर्जरको प्रस्ताव अघि सारेको छ ।

हिमालयन बैंकसँग नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंक सम्मानजक मर्जरको पक्षमा रहेको छ । सोही क्रममा इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकसँग सिभिल बैंकको मर्जरको छलफल अन्तिम चरणमा पुगेको छ ।

हिमालयनले सिभिल बैंकलाई मर्जरको लागि प्रस्ताव गरेको छ । स्वाप रेसियोमा छलफल चलिरहेको र त्यसमा सहमति भएमा असार मसान्तअगावै मर्जरको सम्झौता गर्ने तयारी दुवै बैंकको व्यवस्थापनको तयारी रहेको स्रोतले जनाएको छ ।

सिभिल र हिमालयन बैंक मर्जर हुँदा स्वाप रेसियो अहिलेसम्म फाइनल नभएपनि १००ः९५ बाट छलफल सुरु भएको छ । यसमा सहमति हुन बाँकी छ ।सिभिल व्यवस्थापनले हिमालयनसँग १००ः९५ रेसियो मागेको छ । यता हिमालयन पक्षले भने ८५ को रेसियो दिनेगरी छलफल गरेको छ । सिभिल बैंकले भने ९० भन्दा घटिको रेसियोमा मर्जरमा नजाने नीति लिएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई निर्देशन दिएका थिए । गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए । राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो ।

मर्जरपछि बैंकको कति पुग्दैछ बैंकको चुक्ता पुँजि

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुने छ । चुक्ता पुँजीको हिसाबले ग्लोबल आईएमईपछिको दोस्रो बैंक हुने छ । सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको थियो ।
बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो ।

सिभिल बैंकको चुक्ता पुँजी नौं अर्ब ७ करोड रहेको छ । वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ । सिभिलको बिहीबार अन्तिम कारोबार २०० रुपैयाँ प्रतिकित्तामा भएको थियो । हिमालयन बैंकको चैतमसान्तसम्म एक अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो । प्रतिसेयर आम्दानी १४.३१ रुपैयाँ रहेको छ ।

बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो । दोस्रो बजारमा कारोबार सुरुभएसँगै शेयर मूल्यमा भारी गिरावट आएको छ ।जसका कारण घटेर ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बैंकको सेयर मूल्य एक वर्षअगाडि ३९० रुपैयाँमा बन्द भएकोे थियो। अहिले लगातार घटिरहेको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*