बालेन साहलाई नबिल बैंकको साथ, आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिका र नबिल बैंक लिमिटेडबीच शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन बुधबार काठमाडौं महानगरपालिकासँग सम्भौता गरेको हो ।
सो सम्झौताअनुसार अब बैंकले तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखा कार्यालयका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ ।
शौचालय प्रयोग गरेवापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाई र पानीको प्रबन्ध बैंक आफैंले गर्ने जनाएको छ । उक्त सम्झौता ५ वर्षको हुनेछ ।
काठमाडौंका विभिन्न होटल, रेस्टुरेन्ट तथा पेट्रोलपम्पहरुले यतिबेला मेयर बालेन्द्र साहलाई साथ दिइरहेको छन् । काठमाडौं भित्रका होटलहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न मेयर साहले घोषणा गरेसँगै यतिबेला विभिन्न होटल तथा पेट्रोल पम्पहरुले समेत ‘बालेन फर अस, विइ फर बालेन’ श्लोगन सहित आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याइरहेका छन् ।