मर्जरमा जाने कम्पनीलाई असार मसान्तभित्रैमा एमओयु गर्न बीमा समितिको निर्देशन

२४ जेष्ठ २०७९, मंगलवार १०:५१

काठमाडौं । बीमा समितिले हिजो सबै बीमा कम्पनीहरुलाई एक निर्देशन पठाएर मर्जरमा जाने भएमा असारभित्रैमा एमओयु (समझदारी पत्रमा हस्ताक्षर) गर्न आह्वान गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हिजो सबै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत आवमा सरकारले दिएको छुट सुविधाबारे तीन वटा बुँदामा प्रष्ट पार्दै उक्त सुविधा लिन असारभित्रैमा मर्जरका लागि एमओयुमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था रहेको कुरा स्मरण गराइएको छ ।

समितिले हिजो पठाएको निर्देशनमा गाभिए पश्चात कायम हुने आउने शेयरधनीहरुले दुई वर्षभित्रमा शेयर बिक्री गर्दा लाग्ने आयकर छुट पाउनेछन् । बीमक कम्पनीले गाभिएको दुई वर्षभित्रमा लाभांश वितरण गर्दा त्यस्तो लाभांशमा कर नलाग्ने व्यवस्था समेत रहेको छ । त्यस्तै, गाभिनेक्रममा कर्मचारीहरु अवकासमा जान चाहेमा एकमुष्ठ भुक्तानी गर्दा अवकास रकममा कर कट्टी गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्था रहेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लेखेको पत्रमा उल्लेखित छुट सुविधा २०८० साल असार मसान्तभित्रमा मर्जर प्रक्रिया सम्पन्न गरेकाले मात्रै पाउने व्यवस्था रहेको उल्लेख गरेका छन् । बीमा समितिले पत्रचार गरेर मर्जरबारे छलफल गरेका कम्पनीहरुलाई छिटो मर्जरमा जान दवाव दिन खोजेको देखिएको छ ।

हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुलाई हठात मर्जरमा पठाएर नयाँ लाईसेन्स बाँड्ने योजनामा रहेको बीमा समितिले बीमा कम्पनीहरुलाई रातारात मर्जरमा जान दवाव दिइरहेको छ । नयाँ लाइसेन्स वितरण गर्न पाएमा सेटिङमा करोडौं रुपैयाँ कमाउन पाउने भएकोले बीमा समितिका उच्च नेतृत्व स्वाभाविक मर्जर भन्दा फोर्स मर्जरमा जोड दिइरहेको छ ।

बीमा समितिले यतिबेला बीमा क्षेत्रमा पुँजिबृद्धिको आतंक फैलाएर बलपूर्वक मर्जरमा जान बीमक कम्पनीहरुलाई दवाव दिइरहेको छ । बीमा समितिका उच्च नेतृत्वले बीमा क्षेत्रमा मच्चाएको आतंकबारे अर्थमन्त्रालयमा समेत गुनासो पुगिसकेको र सो सम्बन्धमा थप छलफल गरेर सहजिकरण गरी पुँजि बृद्धिको म्याद थप गर्न लगाउने तयारी भइरहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*