ठूला बैंकको शेयर आइपीओकै मूल्यमा पाइन थाल्यो, १७ बैंकको शेयरमूल्य ३ सयभन्दा तल

२३ जेष्ठ २०७९, सोमबार १३:२८

काठमाडौं । पछिल्लो समय नेपालको पुँजीबजार घट्दो अवस्थामा छ । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव र सिडि रेसियो बढ्दै जानुले शेयर बजार प्रभावित बन्दै गइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८।०७९ को नौ महिना अर्थात चैत मसान्तसम्मको तथ्याङ्कअनुसार नेप्सेमा सूचीकृत २२९ कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्रै १४५ रहेका छन् । त्यस्तै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा चैत मसान्तसम्ममा ६७.६ प्रतिशत रहेको छ ।

यसअर्थमा पनि शेयरबजार हाक्नमा बैंक तथा वित्तीय संस्थाको ठूलो पहुँच रहेको छ । तर गत वर्ष भदौ असोज महिनादेखि बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) अभावको समस्या देखिन थाल्यो । अघिल्लो वर्षको सोही अवधिसमम १५० अर्बभन्दा बढी रहेको तरलता गत वर्षको सोही अवधिसम्म १३० अर्ब घटेर २० अर्ब रुपैयाँ हाराहारीमा झरेको नेपाल राष्ट्र बैंकले तथ्यांक निकालेको थियो ।

अघिल्लो वर्ष कोरोना महामारीले गर्दा देशको अर्थतन्त्रलाई नै तहसनहस पारेको थियो । लकडाउन खुल्ला भएपछि बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरे । लगानी विस्तार भएको अनुपातमा निक्षेप नथपिँदा वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना हुन थालेको हो ।

त्यसयता बैंक तथा वित्तीय क्षेत्रमा तरलता अभाव देखिन थालेको हो । साथै यसको प्रभाव पुँजीबजारमा समेत देखिन थालेको छ । गत वर्षको साउन महिनामा नेप्से इन्डेक्स बढेर ३२०० को विन्दुमा पुग्दा २१ अर्बसम्मको कारोबार भएको थियो ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै विस्तारै बैंक तथा वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना हुन थालेदेखि नै शेयरबजार ओरालो लाग्न सुरु भएको हो । केही महिनायता शेयर बजार एकदमै नाजुक अवस्थामा रहेको छ । १० अर्ब भन्दा बढी चुक्तापुँजी रहेका बैंकहरुको शेयर झण्डै आइपीओको मूल्यमा पाइन थालेका छन् ।

त्यसैभाथी अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट घोषणा गरेलगत्तै शेयरबजार झनै प्रभावित बन्न पुगेको छ । बजेटमा बैंक तथा वित्तीय क्षेत्र र पुँजीबजार सम्बन्धि विशेष नीतिको सम्बोधन हुन नसक्दा पुँजीबजारमा बैंकहरुको शेयर भटाभट घट्न थालेको हो ।

१४ अर्ब चुक्तापुँजी रहेको कुमारी बैंकको शेयरमूल्य २ सय रुपैयाँ भन्दा तल छ । वैशाख २५ गते कम्पनीको शेयरमूल्य बढेर २२८ रुपैयाँसम्म पुगेको थियो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य घटेर २०४ रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, १६ अर्ब भन्दा माथि चुक्तापुँजी रहेको मेगा बैंकको शेयरमूल्य २२७ रुपैयाँ रहेको छ । कम्पनीको शेयरमूल्य जेठ १६ गते बढेर २५४ रुपैयाँसम्म पुगेको थियो । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकको शेयरमूल्य पनि २ सयको हाराहारीमा नै छ । १४ अर्ब चुक्तापुँजी रहेको सो बैंकको शेयरमूल्य गत वर्ष भदौ २ गते बढेर ५६४ रुपैयाँसम्म पुगेको थियो । हाल बैंकको शेयरमूल्य घटेर २९४ रुपैयाँमा झरेको छ ।

त्यस्तै, १८ अर्ब चुक्तापुँजी रहेको अर्को नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य पनि २८७ रुपैयाँ रहेको छ । हिमालयन बैंकसँग मर्जरमा जाने भनेसँगै एक वर्ष भन्दा बढी अवधिसम्म शेयर कारोबार रोक्का रहेको कम्पनीको शेयर जेठ १६ गतेदेखि नेप्सेले फुकुवा गरिदिएको थियो । त्यसयता कम्पनीको शेयर नकारात्मक सर्किट लागि घट्दै आएको छ ।

त्यस्तै, बैकिङ्ग क्षेत्रमा आफुलाई अब्बल बैंकको रुपमा चिनाउँदै आएको ग्लोबल आइएमई बैंकको शेयरमूल्य घटेर २६७ रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापुँजी २३ अर्बभन्दा बढी भएतापनि पछिल्लो तथ्याङ्कअनुसार शेयर २६७ रुपैयाँमा झरेको हो । गत शुक्रबार बैंकको वित्तीय विवरण नै झुठो ठहरिएपछि शेयरमूल्य झनै घट्न पुगेको हो ।

त्यस्तै, यस्तै, १० अर्ब ६२ करोड चुक्तापुँजी रहेको बैंक अफ काठमाण्डूको शेयरमूल्य पनि आइपीओको भाउ नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य २२५ रुपैयाँमा झरेको छ । कम्पनीको शेयरमूल्य २६५ रुपैयाँसम्म पुगेको थियो ।

११ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्य पनि घटेर २१४ रुपैयाँमा सीमित हुन पुगेको छ । कम्पनीको हाइप्राइस २४१ रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै, प्रभु बैंकको शेयरमूल्य पनि २४३ रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दासम्म १२ अर्ब चुक्तापुँजी रहेको बैंकको शेयर झिनो प्रतिशतले बढेर २४३ रुपैयाँमा पुगेको छ । यद्यपी बैंकले गत अप्रिल ३ तारिखमा २९३ रुपैयाँ सम्म धितोपत्र बजारमा मूल्य पाएको थियो ।

त्यस्तै, १० अर्ब चुँक्तापुँजी रहेको सनराइज बैंकको शेयरमूल्य २१९ रुपैयाँ, १४ अर्ब पुँजी रहेको सिटिजन्स बैंक इन्टरनेशनलको शेयरमूल्य २२१ रुपैयाँ, ११ अर्ब चुक्तापुँजी रहेको लक्ष्मी बैंकको शेयरमूल्य २१४ रुपैयाँ, १८ अर्ब चुक्तापुँजी रहेको प्राइम कमर्सियल बैंकको शेयरमूल्य २६६ रुपैयाँ, १८ अर्ब चुक्तापुँजी रहेको एनएमबि बैंकको शेयरमूल्य २६६ रुपैयाँ, १० अर्ब चुक्तापुँजी रहेको माछापुच्छ्रे बैंकको शेयरमूल्य २५९ रुपैयाँ, ९ अर्ब चुक्तापुँजी रहेको सिभिल बैंकको शेयरमूल्य २०५ रुपैयाँ, ९ अर्ब ५५ करोड रुपैयाँ चुक्तापूँजी रहेको सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य २०१ रुपैयाँ र ११ अर्ब चुक्तापुँजी रहेको सानिमा बैंकको शेयरमुल्य २८८ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*