नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको तयारी, चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्ने

१९ जेष्ठ २०७९, बिहीबार १९:२७

काठमाडौं । हिमालयन बैंकसँग मर्जर असफल भएपछि नेपाल इन्भेस्टमेन्ट बैंक अहिले मेगा बैंकसँग मर्जरको तयारी गरेको छ । ‘केही समयदेखि हामी मेगा बैंकसँग मर्जरमा जाने विषयमा छलफल गरिरहेका छौं, वार्ता सकारात्मक छ,’ इन्भेस्टमेन्ट बैंकका एक संचालकले भने, ‘ मर्जरको प्रकृयामा छौ ।’

इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। इन्भेस्टमेन्ट बैंकको एक सेयर बराबर मेगा बैंकको एक सेयर नै हुने गरी स्वाप रेसियो तय हुनेछ।

यी दुई बैंकको एक बराबर एक स्वाप रेसियो कायम भए चुक्ता पुँजी ३४ अर्ब रूपैयाँ पुग्नेछ। स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यु डेलिजेन्स रिपोर्ट) ले गर्नेछ।
मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब पुग्नेछ।

हाल इन्भेस्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ। त्यस्तै इन्भेस्टमेन्टको निक्षेप संकलन १ खर्ब ८० अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ।इन्भेष्टमेन्ट बैंकमा ज्योति पाँडे प्रमुख कार्यकारी अधिकृत छन् भने मेगामा रविना देशराजले नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिरहेका छन्।

इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ८० रूपैयाँ छ भने पुँजी बजारमा यसको सेयर २ सय ९९ रूपैयाँमा कारोबार भइरहेको छ। इन्भेष्टमेन्टको खराब कर्जा अनुपात २.२० प्रतिशत छ।

त्यस्तै, मेगाको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ७७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रूपैयाँ छ भने अन्तिम सेयर मूल्य २ सय ३७ रूपैयाँ छ। हाल इन्भेस्टमेन्ट बैंकको आधारभूतबाहेकका लगानीकर्ताको सेयर कारोबार खुला भए पनि हिमालयन बैंकको सबै लगानीकर्ताको सेयर कारोबार रोक्का छ।

सेयर कारोबार हुने बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार हिमालयन बैंकको सेयर कारोबार खोल्न राष्ट्र बैंकमार्फत् सम्बन्धित बैंक र नेप्सेलाई कुनै पत्राचार भएको छैन।राष्ट्र बैंकले सेयर कारोबार खोल्न सकिने निर्देशन नदिँदासम्म हिमालयनको भने सबै सेयरधनीको कारोबार रोक्का रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*