माल्दिभ्समा नेपाली बीमा कम्पनीहरुले शाखा कार्यालय खोल्न पाउने, यस्तो भयो छलफल

१९ जेष्ठ २०७९, बिहीबार १४:४०

काठमाडौं । नेपाली बीमा कम्पनीहरुलाई माल्दिभ्समा शाखा खोल्न सहज हुने बिषयमा आज छलफल भएका छ । माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिमले विदेशी कम्पनीहरुलाई माल्दिभ्समा शाखा खोल्न सहज रहेको बताएका हुन् ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको जिज्ञासालाई प्रष्ट पार्दै उनले विदेशी कम्पनीहरुले संयुक्त लगानीमा कम्पनी खोल्न सक्ने व्यवस्था रहेको समेत जानकारी गराए ।

समितिका अध्यक्ष सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच माल्दिभ्सको राजधानी मालेमा भएको भेटमा उनले सो बताएका हुन् ।

साथै, अध्यक्ष हासिमले आगामी दिनमा दुई देशका नियमनकारी निकायहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यस अवसरमा बीमा समितिका अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय बीमा नियमनकारी निकायहरूको सङ्गठन सार्क इन्स्योरेन्स रेगुलेटरर्स फोरमलाई पुनः सक्रिय बनाउन प्रस्ताव गरेका थिए ।

जुन प्रस्तावलाई माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिमले सकारात्मक रूपमा लिँदै उक्त फोरमलाई सक्रिय बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्ने ।

त्यस्तै, बीमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणबीच आगामी दिनमा नियमनकारी अनुभव, सूचना, विवरण तथा तथ्याङ्क आदि आदान प्रदान गर्ने र बीमा क्षेत्रमा विद्यमान चुनौतीहरूको मिलेर सामना गर्ने सहमति समेत भएको छ ।

माल्दिभ्सको बैंक, धितोपत्र बजारसहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा बुधबार द्विपक्षीय भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका तर्फबाट बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी सहभागी थिए ।

यसैगरी, माल्दिभ्सका तर्फबाट माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम, डेपुटी गभर्नर अहमद इमाद र बीमा विभागका कार्यकारी निर्देशक हसन फियाज सहभागी थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*