कोरोना बीमाको दावी भुक्तानी बीमा कम्पनीले नै गर्नुपर्ने उच्च अदालत बिराटनगरको फैसला

१७ जेष्ठ २०७९, मंगलवार १६:३८

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सरकारले गर्नुपर्ने भन्दै आएका बीमा कम्पनीहरु अब फस्ने भएका छन् । विराटनगर उच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धित बीमा कम्पनीले नै भुक्तानी गर्नुपर्ने फैसला सुनाएको छ ।

विराटनगर उच्च अदालतका न्यायाधिशहरु सत्यमोहन जोशी थारु र जगतनारायण प्रधानको संयुक्त इजलाशले कोरोना बीमाको दावी भुक्तानी दिन अजोड इन्स्योरेन्सको नाममा आदेश जारी गरेको छ । नेपाल पत्रकार महासंघ विराटनगर शाखाले २०७८ भदौं २१ गते दायर गरेको रिटमाथि हिजो अर्थात जेठ १६ गते सोमबार सुनुवाई गर्दै कोरोना बीमा बीमित र बीमा कम्पनीबीचको करार भएकोले बीमा समितिले भुक्तानी गर्न नमिल्ने र बीमा गर्ने कम्पनी अजोड इन्स्योरेन्स कम्पनीले दावी भुक्तानी दिनुपर्ने ठहर सुनाएको हो ।

विराटनगर उच्च अदालतको आदेशसँगै अजोड इन्स्योरेन्स कम्पनीले ३१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ । विराटनगर शाखामा आबद्ध पत्रकारहरुको कोरोना बीमा अजोड इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । महासंघले बीमा गरेको मध्ये ३१ जनाले कोरोना बीमाको रकम भुक्तानी पाउन सकेका थिएनन् । रकम नपाएपछि पत्रकार महासंघ विराटनगर शाखाले विराटनगर उच्च अदालतमा रिट दायर गरेको थियो । महासंघ विराटनगर शाखाका अध्यक्ष संजिव खनालले कोरोना बीमाको मुद्दामा महासंघले जितेकाले अजोड इन्स्योरेन्स कम्पनीले ३१ जना पत्रकारलाई छिट्टै भुक्तानी दिने विश्वास व्यक्त गरे ।

 

नेपाल पत्रकार महासंघ विराटनगर शाखाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमाथि हिजो अन्तिम सुनुवाई गर्दै कोरोना बीमा बीमा कम्पनीहरुले बीमितसँग करार गरेर शुल्क उठाएको र करार बमोजिम बिनाशर्त भुक्तानी गर्न बीमा कम्पनीका नाममा भुक्तानी गर्न आदेश समेत जारी गरेसँगै अब बीमा कम्पनीहरु फस्ने देखिएको छ ।

उता, सरकारले महाविपत्ति बीमा बण्ड जारी गरेर कोरोना बीमाको दावी भुक्तानी गर्ने भन्दै बजेट बक्तव्यमा समावेश गरेको भोलिपल्ट उच्च अदालत विराटनगरले यस्तो आदेश जारी गरेको हो । उच्च अदालतको आदेश अनुसार सबै कोरोना बीमितलाई दावी भुक्तानी गरेमा नेपाली सबै बीमा कम्पनीहरु अप्ठेरो अवस्थामा पुग्नेछन् । कोरना बीमाको बक्यौता ११ अर्ब २६ करोड भन्दा बढि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*