निर्जीवन बीमाका सिईओ पाँचदिने कार्यक्रमका लागि माल्दिभ्समा, खर्च सबै ब्रोकर जेबि बोदाको
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको पाँच दिने कार्यक्रमका लागि माल्दिभ्सको लागि प्रस्थान भएका छन् । मंगलबारदेखि शुरु भएको भेला शनिवारसम्म चल्नेछ ।कार्यक्रममा भाग लिन सबै इन्स्योरेन्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु माल्दिभ्स प्रस्थान गरेका हुन् ।नेपाल पुनर्बीमा कम्पनीको ब्रोकरले आयोजना गरेको उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि भाग लिएका छन् ।
त्यस्तै, नेपाल पुर्नबीमा कम्पनीको अध्यक्ष, सञ्चालक समितिका सबै सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनकहरु पनि माल्दिभ्स गएका छन् । ‘पाँच दिनको कार्यक्रमका लागि जाँदैछौ ’ शनिबार फर्कने कार्यक्रम छ’ पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले भने ।
बीमा कम्पनीका सिईओहरुलाई पुर्नबीमाको तालिम दिने भनेर जेबि बोदाले माल्दिभ्समा कार्यक्रम राखेको हो । तालिम भनिए पनि कम्पनीका सीईओहरुलाई रिफ्रेसमेन्ट गराउने उद्देश्यले कार्यक्रम तय भएको छ । केही समय अघि यस्तै कार्यक्रम चितवनको सौराहामा गरिएको थियो । यस पटक विदेशमा गरौं, त्यो पनि नयाँ ठाउँमा गरौं भनेर माल्दिभ्समा कार्यक्रम राखिएको हो’ रायमाझीले भने ।
कार्यक्रमको सबै खर्च नेपाल पुनर्बीमा कम्पनीको ब्रोकर जेबि बोदाले व्योहोर्ने भएको छ ।