नबिल र एनबीको स्वाप रेसियो तयार, खडा भयो करिब २३ अर्ब चुक्तापुँजी

९ जेष्ठ २०७९, सोमबार १२:०५

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको मर्जरको प्रक्रिया अघि बढेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १ः०.४३ अनुपातमा प्राप्ति गर्न लागेको हो ।

नबिल बैंकको वैशाख ७ गते शनिबार सिल्भर ओक ब्याङक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बसेको विशेष साधारणसभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ता पिकेएफ टी.आर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सबाट प्राप्त लक्षित संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदानप्रदान अनुपातमा व्यवसायिक अवसरहरु, व्यवसायको प्रतिष्ठा, कर्मचारीहरुको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिति, मुनाफा वितरणको इतिहास, पछिल्लो शेयर बजार मूल्य समेतका विषयहरुको आधारमा नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर उक्त कम्पनीका शेयरधनीहरुलाई नबिल बैंकको ४३ कित्ता (१ः०.४३) शेयर प्रदान गर्ने गरी नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको हो ।

साथै उक्त सभाले मुल्यांकतकर्ताको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण काम कारबाहीलाई अनुमोदन गर्नुका साथै प्रस्ताव बमोजिमको प्रबन्धपत्र संशोधन र प्राप्तिसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धि प्रस्ताव समेत पारित गरेको छ ।

हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्बको हुनेछ । साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । नबिलले एनबी बैंकलाई ४३ रुपैैयाँमा माग्न लागेको हो । यी बैंक मर्ज भएपनि यस अघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।

हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।

हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*