हिमालय एअरलाइन्सको ऐतिहासिक सगरमाथा आरोहण

६ जेष्ठ २०७९, शुक्रबार १७:१०

काठमाडौं । हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ओम्निका डंगोल सहितको सगरमाथा आरोहण टोलीले मे १६ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको छ ।

स्थानीय समयअनुसार जेठ २ सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग हिमालय एअरलाइन्स्की उडान परिचारिका ओम्निका डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन् । जेठ ६ गते डंगोल सकुशल काठमाडौं फर्किन् र गैरीधारामा अवस्थित मुख्य कार्यालयमा हिमालय परिवारद्घारा उनलाई न्यानो स्वागत गर्यो ।

एअरलाइन्स्द्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए र यस गौरवको क्षणलाई एकसाथ मनाएका थिए । टोलीलाई बधाई दिँदै उनले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । परिचारिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुसी छौं ।

यस परियोजनामा धेरै जोखिम र चुनौतीहरू थिए, र म हरेक दिन उहाँको सुरक्षाको लागि चिन्तित थिएँ । तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले यो परियोजना सफल हुनेछ भन्नेमा म विश्वस्त थिएँ । हिमालय एअरलाइन्स्का लागि यो वास्तवमै सुखद उपलब्धि हो । यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ ।“

हिमालयले आफ्नो ऐतिहासिक परियोजना “हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट” नेपालमा पर्यटन प्रवद्घर््न गर्ने उद्देश्यले सुरु गरेको थियो । तत्पश्चात् एअरलाइन्स्ले आफ्नी उडान परिचारिका डंगोलकासाथ विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने तयारीमा विशेष जोड दिएको थियो । डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छिन् ।

यो सगरमाथा आरोहण परियोजनाले चरम प्रतिकूल परिस्थितिका बावजुद पनि हिमालयले देखाउने लगनशीलता र साहसको प्रतिकात्मक प्रतिनिधित्व गर्दछ । विगतका वर्षहरुमा हिमालयले धेरै चुनौती र अवरोधहरूको सामना गर्नुपरेको थियो । हिमालयले ती चुनौती र अवरोधहरूलाई दृढ इच्छाशक्ति र दृढ संकल्पका साथ पार गर्दै आएको छ ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, “हिमालय एअरलाइन्स्का मुख्य उद्देश्यहरु मध्य नेपाली पर्यटन प्रवद्र्घन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवद्र्घनमा हिमालयको एउटा सानो कदम मात्र हो । हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौं ।”

परियोजना सफल रूपमा सम्पन्न भएपछि डंगोलले भनिन्, “सर्वोच्च शिखरमा हिमालय एअरलाइन्स्को प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको क्षण थियो । मेरो यात्रामा धेरै चुनौतीहरू थिए तर मेरो ध्यान सधैं केवल शिखरमा पुग्नुमा थियो ।

यस्तो जीवनमै एकपटक मात्र पाउन सक्ने यस विशेष अवसरको मलाई अनुभव गर्न दिनुभएकोमा म हिमालय एअरलाइन्स् प्रति आभारी छु ।’’ हिमालयको सगरमाथा आरोहण सन् २०२२ को अप्रिल १३ अर्थात् नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भएको थियो भने सन् २०२२ को मे १६ मा सफल शिखर आरोहण पश्चात् समापन भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*