यी चार स्वतन्त्र उम्मेदवार जसले हालसम्म लिइरहेका छन् अग्रता

६ जेष्ठ २०७९, शुक्रबार १६:३५

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । देश यतिबेला चुनावीमय बनेको छ । प्रत्येक दलका कार्यकर्तादेखि लिएर सर्वसाधारणहरु फाइनल मतपरिणामको प्रतिक्षामा बसेका छन् ।

कुल ७५३ मत स्थानमध्ये हालसम्म ६४८ स्थानको मत परिणाम सार्वजनि भइसकेको छ । जसमध्ये नेपाली काँग्रेले बढी अग्रता लिइरहेको छ । नेपाली काग्रेले २८१ स्थानमा बिजयी हासिल गरिसकेको छ भने नेकपा एमालेले १७९ स्थानमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ११२ स्थानमा जित हासिल गर्न सफल भएको छ ।

देशैभर मुख्य दलहरुले अग्रता लिइरहँदा यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको पनि हाइहाइ छ । केही महानगरपालिका, उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवाररुले अग्रता लिइरहेका छन् ।

विशेषगरी काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको यतिबेला देशैभर चर्चा चलिरहेको छ । उनी स्वतन्त्र उम्मेदवारबाट ‘लौरो’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका हुन् । पछिल्लो अपडेटअनुसार साहले २८ हजार मत कटाएका छन् । पछिल्लो विवरणअनुसार साहले २८ हजार २० मत प्राप्त गर्दा विपक्षी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले जम्मा १४ हजार ५४८ र काग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले १३ हजार ९९० मात्रै मत प्राप्त गरेका छन् । बालेन साहले केशव स्थापितको भन्दा १३ हजार ४७२ मत र सिर्जना श्रेष्ठको भन्दा १४ हजार ३० बढी मत पाएका छन् ।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार धरान उपमहानगरपालिका हर्कराज राइले पनि अग्रता जमाइरहेका छन् । उनले पछिल्लो अपडेटअनुसार १२ हजार ९५ मत प्राप्त गरेका छन् । जसमा उनको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले १० हजार ७८१ मत पाएका छन् ।
दुई दिनअघिसम्मको मतपरिणामअनुसार काग्रेसका किशोर राइले हर्कराज राईलाई झिनो मतान्तरले पछि पारेका थिए । अघिल्लो दिन र आजको मतपरिणामअनुसार १ हजार ३१४ मतान्तरले किशोरलाई पछि पारेका छन् ।

त्यस्तै, धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारको अग्रता छ । धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार हमालले हालसम्म १९ हजार १४७ मत प्राप्त गरेर अग्र स्थान जमाइरहेका छन् ।

पछिल्लो अपडेटअनुसार उनले १९ हजार १४७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडको जम्मा ९ हजार ५५७ मत र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दको ४ हजार ६६४ मत खसेको छ । हमालले दुई दलका उम्मेदवारलाई दोब्बर भन्दा बढी मतले पछि पारेका छन् ।

यसैबीच मनोजकुमार साह सुडी पनि अर्का स्वतन्त्र उम्मेदवार हुन् । उनी जनकपुरधाम उपमहानगरपालिकामा एक स्वतन्त्र उम्मेदवार हुन् जसले हालसम्म सर्वाधिक मत प्राप्त गरेका छन् । पछिल्लो अपडेटअनुसार सुडीले ७ हजार २६९ मत प्राप्त गरेको छन् ।

उनले हालसम्म अग्रता जमाइरहेका छन् । यस्तैमा नेकपा एमालेका उम्मेदवार शिव शंकर साहले ५ हजार ३१ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार मनोज चौधरीले २ हजार ७६५ मत प्राप्त गरेका छन् । मनोज चौधरीलाई पछ्याउँदै अर्का स्वतन्त्त उम्मेदवार बलराम महतोले २ हजार २९८ मत प्राप्त गरेका छन् ।

यसबाहेकका अन्य पालिकाहरुमा पनि स्वतन्त्त उम्मेदवारहरुले अग्रता नपाएपनि उल्लेख्य मत पाइरहेका छन् । यसपटकको चुनावमा स्वतन्त्र उम्मेदवारहरुको बाहूल्यता पनि बढेको छ । काठमाडौं महानगरपालिकामा मात्रै बालेन्द्र साहसहित १६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यस्तै, पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले हालसम्म १ हजार ५७७ मत पाएर चौथो स्थानमा रहेका छन् । यस्तै, भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलले ७ हजार ९८३ मत पाएर तेस्रो स्थान र विराटनगर महानगरपालिकामा उमेशकुमार यादवले ४ हजार ८०६ मत पाएर तेस्रो स्थान जमाइरहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*