रौतहटबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले गर्यो पक्राउ
काठमाडौं । रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो ।
एक समूह मतदान स्थगित भएको अवस्थामा मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भएको थियो ।
प्रहरीले सो घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा भएको दाबी गरेको छ । अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जनाएको छ । बैठामाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।