गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीरा एयरवेजको पहिलो उडान सेवा
काठमाडौं । कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको सुरुवात गरेको छ ।
आज काठमाडौंको नक्सालस्थित मेरियट होटलमा जजीरा एयरवेजले प्रेस सम्मेलन गर्दै मध्य–पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको जनाएको हो ।
यसबाट मध्य–पुर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा रुपमा जोडिन सक्नेछन् ।
यो नेपालमा जजीराको दोस्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत जेठ १ गतेबाट उडान सुरु भएको थियो ।
नयाँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भ्वाइस प्रेसिडेन्ट रविन्द्रन भाराथनले भने, ‘जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्यहरु थप्दै गइरहेको छ । यसले गर्दा कुवेत र मध्य(पूर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरूलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ । ’
आरआर ग्रुप अफ कम्पनीजको भगिनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, ’७४ वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्याउनेछ । जसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो’
सोही कार्यक्रममा बोल्दै भाराथनले हालसम्म जजीराको १७ विमान पुगेको बताए । साथै ४५ भन्दा बढी गन्तव्यहरु रहेको बताए । जसमा साउदी अरबमा तीनवटा नयाँ गन्तब्यहरु सुर गरेको उनले बताए ।