सिटिजन लाइफको जीवन बीमा कोष झण्डै दोब्बर बृद्धि, आम्दानीसहितका सूचांकमा सुधार

३० बैशाख २०७९, शुक्रबार ०९:००

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित भएको छ । वित्तिय विवरणमा कम्पनीले पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति गरेको तथ्याङ्कमा देखिएको छ । कम्पनीको जीवन बीमा कोष झण्डै दोब्बरले बृद्धि भएको छ भने बीमा व्यवसायको आकार समेत निकै फराकिलो हुन पुगेको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा पाँच अर्ब ५३ करोड ७८ लाख ८५ हजार रुपैयाँ संचिती रहेको छ । गत आवमा जम्मा तीन अर्ब एक करोड रुपैयाँ रहेको जीवन बीमा कोष ८३.९१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको जगेडा कोष तथा महावित्ति कोष समेतको बृद्धिबाट समग्र कोषको आवस्था ६८ प्रतिशतले बृद्धि भई छ अर्ब ६४ करोड पुगेको छ ।

कम्पनीले चालु आवको नौ महिनामा तीन अर्ब ५९ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बृद्धि हो । कम्पनीले गत आवको नौ महिने अवधीमा दुई अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । लगानी तथा कर्जा र बीमालेख धितोमा कर्जाबाट प्राप्त आम्दानी ३८ प्रतिशतले बृद्धि भएको छ । जसका कारण कम्पनीको मुनाफा तथा कोष दुवै बलियो हुन पुगेको छ । कम्पनीको व्यवस्थापन खर्च १७ प्रतिशतले बृद्धि भई ४३ करोडबाट ५१ करोड पुगेको छ ।

त्यस्तै बीमा अभिकर्तालाई दिने कमिशन रकममा ३२ प्रतिशतले बृद्धि भई ४५ करोडबाट बढेर ६० करोड पुगेको छ । कम्पनीको खुद नाफा १४ करोड ५७ लाखबाट बढेर १४ करोड ६३ लाख पुगेको छ ।

सिटिजन लाइफमा चैत्र मसान्तसम्ममा कायम बीमा पोलिसी संख्या दुई लाख २७ हजार ११३ वटा पुगेको छ । जुन अघिल्लो आवको तुलनामा १७ प्रतिशतले बढि हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*