९ महिनामा ७ खर्ब २४ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) घट्न पुगेको छ ।
समिक्षा अवधिसम्म रेमिट्यान्स ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिसम्म विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । गत आवको सोही अवधिसम्म यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
केही समयअघि अवैध रहेका क्रिप्टो करेन्सी, हुण्डीले गर्दा पनि रेमिट्यान्समा प्रभाव पारेको देखिएको हो । नेपाल सरकारले अहिले पूर्णरुपमा हुण्डी, क्रिप्टो करेन्सी कारोबारमा प्रतिबन्ध लगाएको छ ।
समिक्षा अवधिसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा बृद्धि भई २ करोड ५६ हजार ३१ पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीको लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिमा १९९ं९ प्रतिशतले बृद्धि भई २ करोड ६ लाख ६२९ पुगेको छ । गत आवमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
चालु आवको चैत मसान्ससम्म खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई ८ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।