आधा खर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो नेशनल लाइफ, बीमा शुल्क आम्दानी १७% ले बृद्धि

२८ बैशाख २०७९, बुधबार ०८:४६

काठमाडौं । देशकै तेस्रो ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफ करिब आधा खर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्न सफल भएको छ । आज प्रकाशित चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा ४९ अर्ब चार करोड ५७ लाख ५७ हजार ३५७ रुपैयाँ जम्मा गर्न सफल भएको छ । यो गत आवको यसै अवधीको तुलनामा २१.९५ प्रतिशतले बढि हो । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा धेरै महत्वपूर्ण हुन्छ ।

कम्पनीको समग्र कोषको अवस्था २१ प्रतिशतले बृद्धि भई कूल ४९ अर्ब ९० करोड ८९ लाख पुगेको छ । गत आवको यसै अवधीमा कम्पनीको कूल कोषको आकार ४१ अर्ब ३१ करोड थियो ।

आज प्रकाशित अपरिस्कृत तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार नेशनल लाइफले खुद बीमा शुल्क आम्दानी १७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा आठ अर्ब ६९ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा १० अर्ब १७ करोड ५६ लाख २५ हजार ६५५ रुपैयाँ खुद बीमा शुल्क आम्दानी बापत संकलन गर्न सफल भएको छ । कम्पनीले चरम आर्थिक संकटका बीचमा खुद बीमा शुल्क उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको देखिएको छ ।

 


कम्पनीको खुद दावी भुक्तानी ४२.९३ प्रतिशतले बृद्धि भई दुई अर्ब ८३ करोडबाट बढेर चार अर्ब पाँच करोड ८६ लाख तीन हजार ८६७ रुपैयाँ पुगेको छ । कम्पनीले कर्जा लगानी, बीमालेख धितोमा कर्जा तथा अन्य आयबाट प्राप्त आम्दानी १९ प्रतिशतले बृद्धि भई तीन अर्ब ३८ करोड २२ लाख २६ हजार ९४६ रुपैयाँ पुगेको छ । गत आवमा यस्तो आम्दानी दुई अर्ब ८४ करोड मात्रै थियो ।

कम्पनीको व्यवस्थापन खर्च ११.३८ प्रतिशतले बृद्धि भई ७९ करोड १२ लाख रुपैयाँबाट बृद्धि भई ८८ करोड १२ लाख २२५ हजार पुगेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कमिशन बापत एक अर्ब १० करोड ८० लाख ५० हजार ३०७ रुपैयाँ वितरण गरेको छ । गत आवमा ९७ करोड ३० लाख रुपैयाँ वितरण गरेकोमा चालु आवको समीक्षा अवधीमा ११४ प्रतिशतले बृद्धि भएको आज प्रकाशित तैमासिक वित्तिय विवरणमा देखिएको छ ।

त्यस्तै कम्पनीको खुद नाफा २०.७६ प्रतिशतले घटेको छ । गत आवमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको नौ महिने अवधीमा २५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको क्रममा मुनाफा हेरफेर हुनसक्ने हुन्छ ।

कम्पनीको हाल कायम पोलिसी संख्या ११ लाख ५२ हजार ९१४ वटा रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८.४५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१.३९ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ९१.०१ गुणा रहेको छ भने प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४३.३० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*