स्वावलम्बन लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, जगेडा कोषमा पौने २ अर्ब रुपैयाँ संचित
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । यस अवधिसम्म लघुवित्तको नाफा ९८.८७ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधिसम्म संस्थाले १४ करोड २९ लाख रुपैयाँ खद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी भने घट्न पुगेको छ । गत आवमा १ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिसम्म ५.३६ प्रतिशतले घटेर ९७ करोड ८ लाख रुपैयाा मात्रै यस्तो आम्दानी गरेको छ ।
त्यस्तै, संचालन नाफामा भने उल्लेख्य सुधार गर्न सफल भएको छ । यसकारण लघुवित्तको नाफामा प्रसंशनीय सुधार देखिएको हो । गत आवको यसै अवधिसम्म १ करोड ७४ लाख रुपैयाँ नोक्सानमा रहेको लघुवित्तको संचालन मुनाफा यस अवधिसम्म बढेर ४२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी १९%ले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेकोमा रिजर्भको आकार ४२.५४% ले बढेर १ अर्ब ८४ करोड रुपैयाँ संचित रहेको छ ।
समिक्षा अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ४७ करोड रुपैयाँ सापटी लिएर १९ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, ११ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३३.७७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २६४.२५ रुपैयाँ रहेको छ ।