प्राइम बैंकको अवस्था तनावपूर्ण, सिडी रेसियो शतप्रतिशत पुग्दा निक्षेप फिर्ता गर्नै नसक्ने अवस्थामा

२७ बैशाख २०७९, मंगलवार १३:५४

काठमाडौं । पछिल्लो समय बैंकहरुमा तरलताको अभाव हुँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २७ कमर्सियल बैंकहरुमा तरलता अभाव चर्किदै गइरहेको छ । यसैक्रममा प्राईम बैंकको अवस्था तनावपूर्ण देखिएको छ ।

केन्द्रीय बैंकले समयमा नियमन नगर्दा प्राइम बैंकको अवस्था निक्षेप फिर्ता गर्नै नसक्ने अवस्थामा पुगेको हो । उक्त बैंकको निक्षेप र कर्जा अनुपात सिडी रेसियो लगभग १०० प्रतिशत रहेको छ । बैंकले केन्द्री बैंकबाट एसएलएफ अन्तर्गत ऋण लिएर निक्षेप फिर्ता गर्न सक्ने भएपनि अन्य बैंक तथा केन्द्रीय बैंकको सहयोग नपाए निक्षेपकर्तालाई रकम फिर्ता गर्नै नसक्ने अवस्थामा पुगेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको तरलता अनुपात असार मसान्तसम्ममा ९० प्रतिशत कायम गर्न पाउने छुट दिएसँगै बैंकहरुले आफूसँग हुँदै नभएको रकम लगानी गरेर जोखिम मोल्न थालेको पाइएको छ । सरकारले केन्द्रीय बैंकका गभर्नरलाई असक्षम भन्दै छानविन गर्न खोजेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशमार्फत रोकिएको अवस्था छ ।

नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार १८ वटा कमर्सियल बैंकमा कर्जा–निक्षेप (सीडी रेसियो) ९० प्रतिशत भन्दा माथि देखिएको छ । ९० प्रतिशतभन्दा माथि सिडी रेसियो पुगेको बैंकहरु जोखिमयुक्त छन् । नेपाल बैंकर्स संघले निकाले विवरणअनुसार ९ वटा बैंक बाहेकका सबै बैंकको सीडी रेसियो ९०% भन्दा माथि पुगेसँगै केन्द्रीय बैंकको नियमनको नियतमाथि शंका उत्पन्न भएको छ ।

सिडी रेसियोका आधारमा सिभिल बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, नबिल बैंक, कृषि विकास बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंक जोखिममा रहेको देखिएका छन् ।

सबैभन्दा बढि जोखिममा प्राइम बैंक रहेको छ । सो बैंकको सिडी रेसियो ९९.६२ रहेको छ । जसमा बैंकमा भएको निक्षेप सबै कर्जा परिचालन भएको देखिन्छ । ९९.६२ प्रतिशत सिडी रेसियो पुग्नु भनेको सर्वसाधारणबाट जम्मा गरेको रकम लगभग सबै ऋण प्रवाह भएको छ भन्ने बुझिन्छ । अब बैंकसँग मात्रै ०.३८ प्रतिशत मात्रै रकम मौज्दात छ । कम्पनीले प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार सो कम्पनीमा एक खर्ब ५६ अर्ब दुई करोड ७९ लाख १८ हजार ९५ रुपैयाँ निक्षेप रहेको छ । चैत्र मसान्तसम्ममा बैंकले एक खर्ब ५४ अर्ब ६६ करोड ७३ लाख ७९ हजार ६५१ रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । वित्तिय विवरण अनुसार चैत्र मसान्तसम्ममा बैंकसँग एक अर्ब ३६ करोड मात्रै मौज्दात रहेको छ । चैत्र मसान्तसम्ममा बैंकको सिडी रेसियो ९९.१२ प्रतिशत रहेकोमा बैशाखको तेस्रो सातासम्म आईपुग्दा अझै बृद्धि भएको हो । यससँगै बैंकमा रहेको मौज्दात अझै घटेको छ । सो रकममा बैंकको चुक्ता पुँजि १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार ८०४ रुपैयाँ रहेको छ ।

त्यस्तै, दोस्रोमा नेपाल एसबिआई बैंकको सीडी रेसियो ९५.३५ प्रतिशत, तेस्रो सबैभन्दा बढि जोखिममा बैंक अफ काठमाण्डूको ९५.०५ प्रतिशत रहेको छ । त्यस्तै, कुमारी बैंकको ९४.८५ प्रतिशत, सेञ्चुरी बैंकको ९३.५७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ५३.०७, नेपाल इन्भेष्टमेन्ट बैंकको ५२.४३ प्रतिशत र मेगा बैंकको ५२.३५ प्रतिशतसहित जोखिम सूचिमा परेका छन् । अन्य बैंकको सीडी रेसियो ९१.९० प्रतिशतको हाराहारीमा रहेको छ । समग्रमा हेर्दा यी १८ बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दा माथि पुग्नुले केन्द्रीय बैंकको नियमनमाथि आशंकाको दृष्टिबाट हेर्न सकिन्छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको घोषणाअनुसार नेपाल राष्ट्र बैंकले गत भदौंमा निर्देशन जारी गरेर बैंक, वित्तीय संस्थालाई सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्न भनेको थियो । तर, अर्धबार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले सिडी रेसियोमा लचकता अपनाएको थियो । राष्ट्र बैंकले निर्देशनमा तोकिएभन्दा बढी सीडी रेसियो भएका बैंकलाई सीमाभित्र ल्याउन २०७९ को असार मसान्तसम्मको अवधि दिएको थियो । केन्द्रीय बैंकको निर्देशन बमोजिम यी १८ बैंकहरुले अबको २ महिनाभित्र सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्नुपर्नेछ ।

चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा बृद्धि हुँदा ४ प्रतिशतमात्र निक्षेप बढेको र २ महिना अवधिसम्ममा पनि खासै निक्षेप बृद्धि हुन नसक्ने सम्भावना रहेकोले तोकिएको सीडी रेसियो कायम गर्न गाह्रो हुने बैंकर्स संघको भनाई छ ।

त्यसमध्ये पनि सीडी रेसियो ९५ प्रतिशत भन्दा माथि रहेका प्राइम बैंक, नेपाल एसबिआई बैंक र बैंक अफ काडमाण्डूलाई अझै चुनौती छ । बैंकमा भएको निक्षेप पनि कर्जामा परिचालन भएपछि ९० प्रतिशत भन्दा सीडी रेसियो पुर्याउनलाई निक्षेपमा बृद्धि गर्न झनै समस्या पर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*