किसान लघुवित्तको नाफा सवा ५ करोड रुपैयाँ, जगेडा कोषको आकार १०६% ले बढ्यो

२७ बैशाख २०७९, मंगलवार ११:५८

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ४०.६२ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिसम्म लघुवित्तले ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घटेको छ भने खराब कर्जा ह्वात्तै बढेको छ । यसकारण पनि लघुवित्तको नाफामा सुधार नआएको हो । खुद ब्याज आम्दानी ४.५७ प्रतिशतले घटेर २५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन नाफा ३३.७८ प्रतिशतले घटेर ७ करोग ४९ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, गत आवको यस अवधिसम्म ३.४१ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा यस अवधिसम्म ४.९९ प्रतिशतले बढेर ८.४० प्रतिशत पुगेको छ ।

खुद ब्याज आम्दानी, संचालन नाफा र खराब कर्जा बढेपनि लघुवित्तले आफ्नो रिजर्भको आकार भने बढाएको छ । गत आवको यसै अवधिसम्ममा संस्थाले १८ करोड ३० लाख रुपैयाँ मात्रै संचित गरेकोमा यस अवधिसम्म संस्थाको जगेडा कोषको आकार १०५.९३% ले बृद्धि भएर ३७ करोड ६९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

साथै यस अविधसम्म लघुवित्तले ४ अर्ब ७४ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, १ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको । इपिएस ४.५९ रुपैयाँले घटेर १७.४७ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १९५.८७ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*