युनियन लाइफको जीवन बीमा कोष ५० प्रतिशतले बढ्यो, अन्य सूचांकमा देखियो यस्तो प्रगति

२७ बैशाख २०७९, मंगलवार ०६:३१

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनीको व्यवसाय १९ प्रतिशतले फैलिएको देखिएको छ भने जीवन बीमा कोष ५० प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुका लागि बीमा कोष सबैभन्दा महत्वपूर्ण कुरा हुने गर्दछ ।

कम्पनीले चैत्र मसान्तसम्ममा १० अर्ब ३४ करोड २९ लाख ५४ हजार ५९४ रुपैयाँको विशाल कोष खडा गर्न सफल भएको छ । युनियन लाइफको जीवन बीमा कोष गत आवको समीक्षा अवधीमा छ अर्ब ९० करोड रुपैयाँ थियो । कम्पनीको कोष ४९.८९ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी, कम्पनीको जगेडा कोष५० प्रतिशत बृद्धि भई एक अर्ब नौ करोड २७ लाख रुपैयाँ संचिती गरेको छ । महाविपत्ति कोषमा १२ करोड १४ लाख रुपैयाँ संचिती रहेको छ । कोरोना महामारी र आर्थिक संकटका बीचमा युनियन लाइफको समग्र कोषको आकार ११ अर्ब ५५ करोडभन्दा माथि पुगेको छ । जुन गत आवको तुलनामा ५० प्रतिशतले बृद्धि भएको देखिएको छ ।

 

 

कम्पनीको खुद बीमा शुल्क आम्दानी १९ प्रतिशतले बृद्धि भई पाँच अर्ब पाँच करोडबाट बृद्धि भई गत चैत्र मसान्तसम्ममा पाँच अर्ब ९९ करोड ८२ लाख ९४ हजार ६९० रुपैयाँ संकलन भएको छ । समीक्षा अवधीमा कम्पनीको खुद दावी भुक्तानी ६१.३१ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष एक अर्ब ४५ करोड ९७ लाख रुपैयाँ दावी भुक्तानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा दुई अर्ब ३५ करोड ४६ लाख ९५ हजार ७६४ रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

कम्पनीको व्यवस्थापन खर्च घटेको छ । गत आवको यसै अवधीमा ७० करोड ५० लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ६८ करोड १८ लाख ५६ हजार १६१ रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले कर्जा, लगानी तथा बीमालेख धितामा कर्जाबाट प्राप्त आम्दानी १६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । गत वर्ष ६७ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आवमा ७८ करोडतीन लाख दुई हजार ६३८ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । मुद्दति निक्षेपमा बैंकले ब्याज बृद्धि, सही योजनामा लगानी लगायतका कारणबाट कम्पनीको आम्दानी बृद्धि भएहो हो ।

युनियन लाइफले आफ्ना अभिकर्ताहरुलाई कमिशन बापत ९३ करोड ७४ लाख १६ हजार ५४२ रुपैयाँ वितरण गरेको छ । अघिल्लो वर्ष ९६ करोड रुपैयाँ वितरण गरेको थियो ।

कम्पनीका खुद नाफा ६६.९४ प्रतिशतले घटेको छ । गत आवमा आठ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको नौ महिने अवधीमा दुई करोड ७२ लाख ७४ हजार ३४२ रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा वित्तिय विवरण तयार गर्नुअघि गरिने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्ने हुन्छ । कम्पनीको हालसम्म कायम बीमा पोलिसी संख्या समेत केही घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*