सिभिल बैंकको केन्द्रीय कार्यालय रहेको सिटीसी मल लिलामीमा, सञ्चयकोषले निकाल्यो सूचना

२६ बैशाख २०७९, सोमबार १४:२८

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल बैंक रहेको सिभिल ट्रेड सेन्टर (सिटिसी मल) बिक्री गर्न कर्मचारी सञ्चय कोषले लिलामीको सूचना प्रकाशित गरेको छ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङकोको उक्त सिटिसी मल धितोबापतको रकम तिर्न अध्यक्ष तामाङ असफल भएपछि कर्मचारी संञ्चय कोषले लिलाम गर्ने ३५ दिने सूचना प्रकाशित गरेको हो । सो भवनमा अजोड इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय समेत रहेको छ ।

काठमाडौं महानगरपालिकाबाट नौ तल्ले भवन निर्माण गर्ने अनुमति लिई ११ तल्लाको भवन बनाएको सो मल सुरुदेखि नै विवादमा आएको थियो । सोही कारण सो भवनको बीमा समेत गर्न नहुने थियो । तामाङको सिभिल सहकारीले सिभिल स्टेटको नामबाट लिएको २१ करोड रुपैयाँ नतिरेपछि कोषले लिलामीको सूचना प्रकाशित गरेको हो । कोषले यसअघि पनि सूचना प्रकाशित गर्दै इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न आह्वान गरेको थियो ।

कोषले आज सूचना प्रकाशित गर्दै सिभिल स्टेट्सको नाममा रहेको मलका पसल सटरहरु समेत लिलाम गर्न सूचना जारी गरेको हो । मलमा रहेका १३२ वटा सटरहरु लिलाम गर्न कर्मचारी संचय कोषले आज सूचना निकालेको छ । काठमाडौं महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा निर्माण भएको सटरहरु लिलाम हुन लागको हो । उक्त मल ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । मल २४२४ कित्ता नम्बरमा ६ रोपनीमा फैलिएको छ ।

कोषले कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको अवधि सकिसक्दा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोही पनि ऋणचुक्ता गर्न नआएकोले लिलामीका लागि सम्पत्तीको मुल्यांकन प्रक्रिया अघि बढाएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

यसअघि कर्मचारी संचय कोषले गत मंसिर ६ गते सूचना प्रकाशित गर्दै ३५ दिनभित्र ऋण नतिरे धितोमा रहेको सिटिसी मल लिलाम गर्ने चेतावनी दिएको थियो । उक्त मलको संचालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ, प्रविण मुखिया रहेका छन् । व्यक्तिगत जमानीकर्ता तर्फ यी तीनजना सहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन् ।

इच्छाराज तामाङ सिभिल सहकारीको अध्यक्ष हुँदा अर्बौ रुपैयाँ ठगीको आरोपमा पक्राउ परी हाल पुर्पक्षको लागि कारागारमा रहेका छन् । अध्यक्ष तामाङले आफै अध्यक्ष रहेको सिभिल बैंकलाई भाडामा नगएको सिटीसी मलमा सारेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*