आम्दानी घटेसँगै युनाइटेड मोदी हाइड्रोपावरको नाफामा गिरावट
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअुनसार तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा २ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यो नाफा गत वर्षको भन्दा ४८% ले थोरै हो ।
गत वर्ष कम्पनीले ५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २२ करोड ६३ लाख रुपैयाँबाट घटेर १८ करोड १३ लाख रुपैयाँमा झरेको छ । यसले गर्दा पनि कम्पनीको नाफा प्रभावित भएको छ ।
यसअवधिमा कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने बढेको छ । गत वर्ष १४ लाख ३३ हजार रुपैयाँ अन्य श्रोतबाट आम्दानी गरेको यो कम्पनीले यो त्रैमासमा बढाएर ३ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ ।
हाल यसको चुक्ता पुँजी १ अर्ब १५ करोड रहेको छ भने रिजर्भ कोषमा १० करोड ४५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी (वार्षिक) २ रुपैयाँ ३९ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने १०९ रुपैयाँ ०९ पैसा छ ।