४१ रुपैयाँमा झर्यो डिप्रोक्सको इपिएस, अन्य सूचांक कस्तो ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा घटेको छ । लघुवित्तहरुको मुनाफा बढिरहेको बेला डिप्रोक्स लघुवित्तको भने घटेको हो । डिप्रोक्स लघुवित्तले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा मुनाफासहितका सूचांकमा राम्रो प्रगति नदेखिएको हो ।
गत आवको नौ महिनाको अवधीमा कूल ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको समीक्षा अवधीमा १५.८३ प्रतिशतले घटेर ४३ करोड ६१ लाख रुपैयाँमा सीमित भएको हो । कम्पनीको ब्याज आम्दानी बृद्धि भएपछि मुनाफा भने घटेको छ । कम्पनीको चुक्ता पुँजि २० प्रतिशते बृद्धि भएको अवस्थामा मुनाफा भने १५ प्रतिशतले घट्दा इपिएस १७.८४ प्रतिशतले घटेर ५९.७५ रुपैयाँबाट ४१.९१ रुपैयाँमा झरेको छ ।
कम्पनीमा निक्षेप २२ प्रतिशतले बृद्धि हुँदा ऋण प्रवाह १५.८२ प्रतिशतले विस्तार भएको छ । गत आवमा १९ करोड प्रोभिजन गर्नु परेकोमा यस आवमा जम्मा चार करोड मात्रै प्रोभिजन गरेको छ । जसका कारण सञ्चालन मुनाफा २३ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवमा ३३ करोड रुपैयाँ खराव कर्जा उठाएकोमा यस आवमा खराव कर्जा सात करोड मात्रै असुल भएको छ ।
चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १७ पैसा रहेको छ । समग्रमा कम्पनीको अवस्था राम्रो भएपनि मुनाफा घटेसँगै इपिएस घट्नु, अनियमित कर्जा सामान्य बृद्धि हुनु, कष्ट अफ फण्ड बृद्धि हुनुले प्रश्न चिन्ह भने उठेको छ ।