एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरको सैद्धान्तिक सहमति, मर्जरपछि कस्तो हुनेछ यो कम्पनी ?

स्वाप रेसियो डीडीएपछि तय हुने
२५ बैशाख २०७९, आईतवार १३:२७

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्योरेन्सबीच भएको मर्जर सम्झौतालाई बीमा समितिले सैद्दान्तिक सहमति दिएको छ ।गत बिहीबार मर्जरका लागि आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका ती कम्पनीहरुले सैद्धान्तिक सहमतिका लागि शुक्रबार समितिमा आवेदन दिएका थिए ।

कम्पनीहरुको कागजात अध्ययनपछि सैद्धान्तिक सहमति प्रदान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललले बीमा पोष्टलाई बताएका छन् । समितिबाट जारी बीमक गाभ्नेरगाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा निर्देशिका, २०७६ को दफा ६ बमोजिम दुई कम्पनीरुलाई एक आपसमा गाभ्नरगाभिन सैद्धान्तिक सहमति दिएको उनले बताए ।

‘कम्पनीहरुबाटै यथाशिघ्र छिटो प्रक्रिया पुरा गर्ने भन्ने कुरा आएको छ,’ उनले भने, ‘यसकारण सैद्धान्तिक सहमतिमा समय तोकेका छैनौं ।’ बिमा कम्पनीहरुबीचको पहिलो मर्जर भएकाले छिटो र प्रक्रियामा सरलीकरण गर्न समिति तयार रहेको पनि पौडेललले बताए।

सैद्धान्तिक सहमति पाएलगतै दुबै कम्पनीले आफ्नो तर्फबाट मर्जर समिति बनाइसकेका छन् । अब दुबै मर्जर समिति मिलाएर संयूक्त मर्जर समिति बनाउने र तीब्र गतिमा मर्जर प्रक्रिया अघि बढाउने तयारी भएको कम्पनी स्रोतले जनाएको छ ।

‘छिट्टै संयूक्त मर्जर समिति बन्दैछ,’ स्रोतले भन्यो, ‘त्यसपछि द्रुत गतिमा काम अघि बढ्छ ’ स्रोतले भन्यो ।मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम दुबै कम्पनीको अस्तित्व देखिने गरी राख्ने अनौपचारिक सहमति भए पनि टुङ्गो लागिसकेको छैन ।

त्यस्तै, कम्पनीको सेयर मिलान अनुपात (स्वाप रेसियो) समग्र सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) पछि तय हुने पनि स्रोतले बताएको छ । करिब डेढ महिना अघि बीमाा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ । एक वर्षको समय दिएर समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको हो ।

मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गरी कम्पनीको संख्या घटाउने उद्देश्यले समितिले पुँजी वृद्धिको निर्णय गरेको थियो । मर्जर भएपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्ने बताइएको छ । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब र हिमालयनको करिब १ अर्ब १७ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षभित्रै मर्जर प्रक्रिया पुरा गर्ने सहमति दुबै पक्षबीच भएको स्रोतले बताएको छ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मिलेर बन्ने नयाँ कम्पनीको चुक्ता पुँजि दुई अर्ब ४२ करोड ७७ लाख ३२ हजार चुक्ता पुँजि पुग्नेछ।मर्जरपछि पनि बीमा समितिले तोकेको साढे दुई अर्ब चुक्ता पुँजि पुग्ने छैन ।

यद्यपि एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६.६५ प्रतिशत बोनस शेयरसहित दिने निर्णय कार्यान्वयन हुन बाँकी छ । सो समेत गर्दा एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजि एक अर्ब १७ करोड ३१ लाख १२ हजार रुपैयाँछ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजि एक अर्ब २५ करोड ४६ लाख २० हजार रुपैयाँ चुक्ता पुँजि पुगिसकेको छ।मर्जरपछि दुई कम्पनीका करिब ४०० जना कर्मचारी तथा देशैभरि ६० वटा भन्दा बढि शाखा कार्यालय हुनेछन्।

दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार दुई कम्पनी मध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिशेयर कूल आम्दानी १०.१४ रुपैयाँ छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ९.४९ रुपैयाँ छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्ति हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २६०.९७ रुपैयाँ छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको २४०.२१ रुपैयाँ रहेको छ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुजी कायम गर्न निर्देशन दिएको थियो।सो बमोजिम बिहीबार यी दुई कम्पनीहरुले मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*