जंगल मासेर निजगढमा विमानस्थल नबनाउन इपनको चेतावनी

२५ बैशाख २०७९, आईतवार १२:०६

काठमाडौं । नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघ (इपन)ले विकल्पहरु हुँदाहुँदै बाराको निजगढमा रुखहरु मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । संघले जंगल मासेर विमानस्थल बनाउन नपाईने आफ्नो अडान अघि सारेको छ । पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि संघको धारणा छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो धारणा अघि सारेको हो । संघको तर्फबाट अध्यक्ष सुदर्शन प्रधानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हवाई मैदानजस्तो दुरगामी महत्व राख्ने स्थलको छनौट गर्ने माथि निजगढको जंगल, खोटपूर्ण र शंकास्पद रह्यो किनकी चितवनको शुक्रनगर–नयाँगाउँ सेरोफेरोको हजारौं हेक्टरमा एउटा सालको रुख पनि छैन तर निजगढमा ७००३ हेक्टर वनक्षेत्रमा सालका रुखवृक्ष, लाथ्रा, पोल, बल्लाबल्ली जम्मा ८ करोड ६८ लाख १५ हजार ३३५ वटा छन् । जसको बजार मूल्य ६०० अर्ब (६ खर्ब) भन्दा माथि हुन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा के अन्तर छ ? जहाँ बाघ, गैंडा, जंगली हात्ती, चितुवा, हरिण, मृगलगायत ३७ स्तनधारी प्रजाति, ४९० पंक्षीहरु, सरिसृप र भ्यागुता १५ जाति, उभयचर ३ प्रजाति र माछा १८ प्रजातिका लगायत अरु सयौं प्रकारका प्रकृतिका सन्तानहरु छन् ।’
उनले निजगढको ८ हजार हेक्टर जंगल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरु,थलनी, बडकी पैनी र जोकाहा खोलाहरुको मुहान भएकोले पानीका स्रोतहरु पूर्ण रुपले सुक्ने बताए ।

उनले भने,‘यसले बाराको ५ गाउँपालिका (देवताल, सुवर्ण, करैयामाई, आदर्श केटवाल र बारागढी) र चार नगरपालिका (कोल्वी, पचरौता, महागढीमाई, सिम्रौनगढ र कलैयाँ उपमहानगरपालिकाका झण्डै ५ लाख ५० हजार जनताको खानेपानी र सिँचाईमा गम्भीर दुष्प्रभाव पार्नेछ । साथै, रौतहट जिल्लाका लाखौं जनतालाई पनि गम्भीर असर पर्नेछ।’

प्रधानले काठ तस्करहरुका चंगुलमा परेर राज्यको नेतृत्व गर्नेहरुहरुले मनोमानी गरेर विमान कुनै गम्भीर अध्ययन–अनुशन्धान निजगढको जंगल फाँड्न निर्णय गर्ने, आदेश दिनेजस्तो आत्मघाती कदम चालिरहेको आरोप लगाए । उनले भने,‘तिनलाई तुरुन्त रोक्नुपर्छ । र, वनजंगल पनि बच्ने र हवाई मैदान पनि बन्ने कदम चाल्नु पर्छ ।’ उनले राज्यले आफूहरुले अघि सारेका मागप्रति गम्भीरता नदेखाए र जबरजस्ती रुपमा जंगल मासेर विमानस्थल बनाउन खोजे त्यसको विरुद्धमा सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

कार्यक्रममा पूर्व प्रमुख संरक्षण अधिकृत तथा पर्यावरणविद् बाबुराम यादवले निजगढ विमानस्थलको विकल्प रहेको सुनाए । निजगढमा विमानस्थल बनाउने नाममा अहिले पनि झण्डै ७ हजार हेक्टर जमिनमा चारै दिशाको (४२ किलोमिटर) मा तारबार लगाएको र घेरिएको ठाउँमा पनि (झण्डै ५ किलोमिटर) मा तारबार लगाएर वन्यजन्तुमाथि अमानवीय व्यवहार गरिएको यादवले वस्तुस्थिति सुनाए ।

यादवले भने,‘निजगढ हवाई मैदानको विकल्प सिमरा विमानस्थललाई विस्तार गरेर बनाउन सकिन्छ, जुन १२ सय हेक्टरमा रहन्छ । अर्को विकल्प भनेको सर्लाहीको मूर्तियामा ३४ सय हेक्टरमा निर्माण गर्न सकिन्छ ।’ यादवले सिमरा र सर्लाहीको मूर्तियामा विमानस्थल निर्माण गर्दा लागत पनि न्यून लाग्ने दाबी गरे । उनले भने,‘सिमरा र मूर्तियामा विमानस्थल बनाईयो भने लागत कम लाग्नुको साथै यसले जंगल पनि सखाप पार्दैन्, कुनै पानीका मुहानहरु पनि सुक्दैनन् र जनता दुष्प्रभावित बन्दैनन् ।’

यादवले लण्डनको हिथ्रो हवाई मैदान १२२७ हेक्टरमा बनेको, सिंगापुरको चाङी हवाईमैदान १३०० हेक्टरमा र दुवईको अन्तर्राष्ट्रिय हवाई मैदान १२५० हेक्टरमा बनेको उल्लेख गर्दै भने–‘यी विमानस्थलहरुले क्रमशः यात्रुहरु ८ करोड, ६.५६ करोड र ८.९१ करोडलाई सेवा पुर्याईरहेछन् । जबकी काठमाडौंको त्रिभुवन विमानस्थलले वार्षिक ७१ लख हवाई यात्रुहरुलाई सेवा दिईरहेछ । प्रस्तावित निजगढको हवाई मैदानले जम्मा ७२ लाखलाई सेवा दिने लक्ष्य बनाईएको छ ।’

त्यस्तै, ३७ वर्षसम्म विमान चलाएका क्याप्टेन युवराज भट्टराईले विमानस्थल बनाउनु भनेको संवेदनशील विषय भएको उल्लेख गर्दै विमानस्थल बनाउनुपुर्व सबै कोणबाट हेर्नुपर्ने र विशेषगरि पर्यावरणीय अवस्थाको लेखाजोखा गर्नुपर्नेमा जोड दिए । उनले निजगढमा विमानस्थल बनाउने नाममा जंगल सखाप पार्ने काम गर्न नहुने पनि तर्क गरे । उनले निजगढमा विमानस्थल बनाउनुभन्दा पनि यसको विकल्प खोज्न सरकारलाई सुझाव दिए ।

कार्यक्रममा पर्यावरणविद् सुरेन्द्र ढकालले नेपालका हिमालहरु संकटमा परेको र आगामी दिनमा पनि यसको अझै क्षति हुने उल्लेख गर्दै नेपाल पर्यावरणको हिसाबले दिनप्रतिदिन कमजोर अवस्थामा पुगेको चिन्ता व्यक्त गरे । यसबाट मुक्त गराउनको लागि पनि सबै सरोकारवालाहरुले वनजंगलको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । उनले पनि निजगढमा जंगल मासेर विमानस्थल बनाउन नहुने तर्क गरे । उनले विमानस्थल बनाउने नाममा जंगल मासेर त्यहाँका वन्यु जीवजन्तु र पन्छीहरुको वासस्थान सखाप पार्नु भनेको अहिलेको मानव पुस्ताको नै विनाश गर्नुसरह हुने चिन्ता व्यक्त गरे । उनले राज्यले पर्यावरणीय क्षतिको बारेमा गम्भीर हुनुपर्ने र निजगढ विमानस्थल बनाउनको लागि ठाउँको विकल्प खोज्नुपर्ने सुझाव दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*