खराब कर्जा ह्वात्तै बढेसँगै सर्पोट लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ३०% ले बृद्धि
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ ।
चालु आवको चैत मसान्तसम्ममा लघुवित्तको नाफा ४७.९१ प्रतिशतले घटेर १ करोड १० लाख रुपैयाँमा कायम भएको छ । गत आवको यसै अवधिसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घट्न पुगेको छ । यसकारण पनि संस्थाको नाफामा सुधार नदेखिएको हो । खुद ब्याज आम्दानी ६.२९ प्रतिशतले घटेर ५ करोड ४२ लाख रुपैयाँ र संचालन नाफा ४७.९१ प्रतिशतले घटेर १ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, यस अवधिसम्म संस्थाको खराब कर्जा पनि ह्वात्तै बढ्न पुगेको छ । गत आवको चैत मसान्तसम्ममा ०.३५% मात्रै रहेको खराब कर्जा यस अवधिसम्म बढेर ४.१४% पुगेको छ । यसकारण पनि संस्थाले नाफामा सुधार ल्याउन नसकेको हो ।
समिक्षा अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ९१ करोड २१ लाख रुपैयाँ सापटी लिई १ अर्ब २४ करोड ८७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, २५ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस अवधिसम्म संस्थाको चुक्तापुँजी ३०% ले बढेर ८ करोड ५८ लाख रुपैयाँ पुगेकोमा रिजर्भको आकार २.८१ प्रतिशतले बढेर ४ करोड १३ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, लघुवित्तको वार्षिकी प्रतिशेयर आम्दानी १७.१३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८.१४ रुपैयाँ रहेको छ ।