माया मनोहर होटलमा सञ्चालकहरु नै अचम्मित, यसरी भएको थियो एभरेष्ट–हिमालयन जनरल मर्जर सम्झौता

२३ बैशाख २०७९, शुक्रबार ००:१७

काठमाडौं । बिहिवार अपरान्ह माया मनोहर बुटिक होटलमा प्रवेश गर्नुअघि एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका धेरै सञ्चालकहरुलाई नयाँ सहमति हुने र मर्जरमा जान मेमोरेण्डम अफ अण्डरस्टाण्डिङ (एमओयु) मा हस्ताक्षर हुने कुरा समेत थाहा थिएन । सम्झौता भइसकेपछि पनि सबै अचम्मित जस्तै देखिन्थे । अपरान्ह चार बजेपछि छलफल सुरु भयो । केहीबेरमा तयारी अवस्थाको सम्झौतापत्रमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरे । सबैले ताली बजाए, ‘मलाई सपना जस्तै लागिरहेको थियो, तर आज ऐतिहासिक घटना भयो’ छलफलमा एक सञ्चालकले बीमापोष्टलाई अनुभव सुनाए ।

बीमा समितिले एक अर्ब चुक्ता पुँजि भएको कम्पनीको पुँज बृद्धि गरी दुई अर्ब ५० करोड पुर्याउने निर्णय गरेपछि चुक्ता पुँजि बृद्धि गर्ने दवावमा परेका राजेन्द्र खेतानले मर्जरका लागि उपयुक्त पात्रको खोजीमा थिए । कम्पनीमा उनको प्रभाव राम्रो थियो । उनी थोरै लाभांश दिने कम्पनीमा थप लगानी गर्नुभन्दा मर्जरमा जानु उपयुक्त देखे । अर्कोतिर गत वर्षदेखि नै मर्जरको खोजीमा रहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी पनि उपयुक्त अर्को कम्पनीको खोजीमा थियो । दुवैको समान उद्देश्य भएकोले मर्जरमा धेरै कठिन हुने कुरै भएन ।

बीमा समितिले मर्जरका लागि दवाव दिन थालेपछि खेतान ग्रुपका अध्यक्ष मोहन गोपाल खेतानका छोरा राजेन्द्र खेतान र राजकृष्ण श्रेष्ठका छोरा महेन्द्रकृष्ण श्रेष्ठका बीचमा पटक पटक छलफल भइरहेको थियो । दुवै कम्पनी एकै पटक स्थापना भएका, दुवै कम्पनीको प्रतिशेयर आम्दानी लगभग समान र चुक्ता पुँजि पनि लगभग समान नै रहेकोले १ः१ रेसियोमा मर्जरमा जान खासै समस्या थिएन ।

त्यसैले राजेन्द्र खेतान र महेन्द्रकृष्ण श्रेष्ठ बाहेक अन्य सञ्चालकहरुलाई मर्जरबारे जानकारी नै नदिई छलफल गरिरहेका थिए ।
त्यसैले बिहिवार हात्तिसारस्थित जयनेपाल हल अगाडि रहेको माया मनोहर होटलमा उपस्थित धेरैजसो संस्थापक शेयरधनीहरुको तर्फबाट र पब्लिक शेयरधनीहरुको तर्फबाट सञ्चालक बनेकालाई मर्जरमा जाने तयारीबारे अत्तोपत्तो थिएन ।
स्रोतका अनुसार खेतान र श्रेष्ठका बीचमा पटक पटक छलफल भई अन्तिम मस्यौदा तयार भएपछि मात्रै अन्य मुख्य सञ्चालकहरुलाई जानकारी दिइएको थियो । नेप्सेमा समेत यस विषयमा जानकारी दिनुपर्ने, मर्जरसँगै शेयर बजारमा हुने हलचललाई रोक्न बिहिवार शेयर कारोबार सकिएपछि बैठक डाकिएको थियो । शुक्रबार र शनिबार शेयर कारोबार बन्द हुने हुँदा बिहिवार नै शेयर कारोबार बन्द भएपछि बैठक डाकिएकोले शेयर कारोबारमा चलखेल हुन पाएन । सञ्चालक समितिको बैठकबाट आजै मात्रै मर्जर सम्बन्धी प्रस्ताव पारित गराइएको थियो । दुवै सञ्चालक समितिको बैठकबाट पारित भएपछि एमओयुमा दुवै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेका हुन् । यसरी नेपाली बीमा क्षेत्रको पहिलो मर्जर सम्झौता एमओयुमा हस्ताक्षर गर्न सम्भव भएको थियो ।

बीमा समितिले यसअघि पनि मर्जरमा जान आग्रह गरेको भएपनि सफल हुन सकेको थिएन । यस पटक पुँजि बृद्धि गरी मर्जरमा जाने प्रोत्साहन गरेपछि एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा मर्जरको ढोका खोलेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*