बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै, कुन प्रदेशको कति ?
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/०७९ को वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने प्रक्षेपण गरेको हो।
तथ्याङ्क विभागले आज प्रदेशीस्तर आर्थिक वृद्धिदर सावर्वजनिकग गरेको हो । विभागले प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपीमा) मा वागमती प्रदेशले सबैभन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ।
सात प्रदेश मध्ये कर्णाली प्रदेशले सबैभन्दा कम १ खर्ब ९८ अर्ब रुपैयाँले ४.१ प्रतिशत योगदान गर्ने अनुमान तथ्याङ्क विभागको छ।अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा वागमती प्रदेशको मात्र ३७.७ प्रतिशत योगदान थियो। गत आर्थिक वर्षको तुलनामा वागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा योगदान घटेको विभागको तथ्याङ्कले देखाएको छ।
यस्तै विभागका निर्देशक गणेशप्रसाद आचार्यले प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर नजिक रहेको बताए। उनले कुल गार्हस्थ्य उत्पादनमा प्रदेश तहमा सबैभन्दा धेरै वागमती प्रदेशको योगदान रहेको बताए। आचार्यले प्रदेश तहको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्र र कम औद्योगिक क्षेत्रको रहेको स्पष्ट पारे।
उनले भने,‘सबैभन्दा धेरै आर्थिक वृद्धिदर वागमती प्रदेशको ६.७ प्रतिशत छ। सबै भन्दा कम मधेस प्रदेशको ४.८ प्रतिशत देखिन्छ।’ आचार्यका अनुसार प्रदेशस्तरीय आर्थिक वृद्धिदर राष्ट्रिय आर्थिक वृद्धिदर नजिक छ। त्यसमा कहीँ तल, माथि परेको देखिन्छ। यस्तै कुल गार्हस्थ्य उत्पादनमा प्रदेश तहमा कति हिस्सा छ भन्दा, सबैभन्दा धेरै वागमती प्रदेशको छ।
प्रदेश तहको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्रको छ। सबैभन्दा कम औद्योगिक क्षेत्रको छ। सबैभन्दा धेरै सेवा क्षेत्रमा वागमती प्रदेशमा ७६.६९ प्रतिशत छ भने मधेस प्रदेशको ३४.५ प्राथमिक क्षेत्रको देखिएको छ।
विभागको तथ्याङ्क अनुसार १५.७ प्रतिशतको योगदानसहित प्रदेश १, दोस्रो स्थानमा छ। त्यस्तै १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा छ। कुल ग्राहस्थ्य योगदानमा ८.९ प्रतिशतको योगदान दिएको गण्डकी प्रदेश पाँचौँ स्थानमा छ भने सुदूरपश्चिम प्रदेश ७.० प्रतिशतसहित छैटौं र कर्णाली प्रदेश ४.१ प्रतिशतसहित सातौं स्थानमा रहेको विभागले जनाएको छ।
यसैगरी अघिल्लो आर्थिक वर्षमा वागमतीको ३७.७ प्रतिशत, प्रदेश १ को १५.६ प्रतिशत, गण्डकी प्रदेशको ८.७ प्रतिशत, लुम्बिनी प्रेदेशको १४.० प्रतिशत, मधेस प्रदेशको १३.२ प्रतिशत, सुदूरपश्चिम प्रदेशको ६.९ प्रतिशत र कर्णाली प्रदेशको ४.० प्रतिशत रहेको थियो।
यसअघि विभागले चालु आर्थिक वर्षका लागि अधिकतम ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिसकेको छ। प्रदेश स्तरीय आर्थिक वृद्धिदरमा पनि चालु आर्थिक वर्ष वागमती प्रदेशको ६.७ प्रतिशत, गण्डकी प्रदेशको ६.१७ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३६ प्रतिशत, कर्णाली प्रदेशको ५.४६ प्रतिशत, प्रदेश १ को ५.४१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.९३ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
चालु आर्थिक वर्षको ६ महिनादेखि ९ महिनाको आर्थिक गतिविधि, प्रशासनिक तथ्याङ्क लगायत मुख्य १८ वटा सूचकहरुलाई आधार मानेर कुल गार्हस्थ्य उत्पादन प्रदेश तहको योगदान र आर्थिक वृद्धिदरको तथ्याङ्क सार्वजनिक गरेको बताएको छ। आर्थिक वर्ष २०६७÷६८ लाई आधार वर्ष मानेर तथ्याङ्क मापन गरिएको विभागले बताएको छ।