आइपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तको यस्तो छ वित्तीय अवस्था

२२ बैशाख २०७९, बिहीबार १२:२९

काठमाडौं । आइपीओ निष्काशन गर्ने तयारीमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ९.५६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म लघुवित्तले १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ८२.७६ प्रतिशतले बढेर ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आवमा संस्थाको यस्तो आम्दानी ४ करोड २ लाख रुपैयाँ रहेको थियो । त्यस्तै यता संचालन नाफा पनि १ करोड १९ लाख रुपैयाँबाट बढेर १ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको ९ महिना अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ७४ करोड ४९ लाख रुपैयाँ सापटी लिएर २ अर्ब १२ करोड ८४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै २९ करोड १९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस अवधिसम्म संस्थाको चुक्तापुँजी १५ करोड २५ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार बढेर १ करोड ९२ लाख रुपैयाँ संचित रहेको छ । संस्थाको खराब कर्जा ०.४५ प्रतिशतबाट बढेर ३.३४ प्रतिशत पुगेको छ ।

लघुवित्तले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । आइपीओ जारी गर्नको लागि संस्थाले बिक्री प्रबन्धकमा मुक्तिथान क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । बोर्डबाट अनुमति पाउनसाथ लघुवित्तले आइपीओ निष्काशन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*