पाँचथर पावरको नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा ३७०.८० प्रतिशतले बृद्धि भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको यसै अवधिसम्म २ करोड ९५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेकोमा चालु आवको यस अवधिसम्म नाफा उल्लेख्य सुधार आएर १३ करोड ९१ लाख रुपैयाँ पुर्याएको हो ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनीको नाफामा प्रगति देखिएको हो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २२ करोड ७१ लाख रुपैयाँबाट बढेर ३१ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । जगेडा कोष ९ करोड ४० लाख रुपैयाँमा छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७७ पैसा छ ।