पाँच अर्ब पुँजिका लागि नौ महिना समयले नपुग्ने अध्यक्षहरुको गुनासो, अघि बढ्नुस्, सहजिकरण गर्छौः अध्यक्ष सिलवाल

२२ बैशाख २०७९, बिहीबार १२:०२

काठमाडौं । बीमा समिति र जीवन बीमा कम्पनीका अध्यक्ष, प्रमुख शेयर लगानीकर्ता तथा सिईओहरुसँग छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई तोकिएको समयमा जुनसुकै तरिकाले चुक्ता पुँजि पाँच अर्ब पुर्याउन निर्देशन दिएका छन् । बीमा समितिले आगामी नौ महिनाभित्रैमा चुक्ता पुँजि दोब्बर भन्दा बढिले बृद्धि गर्ने निर्णय कार्यान्वयनको सम्बन्धमा भएको छलफलमा सहभागी बीमा कम्पनीका अध्यक्षहरुले नौ महिनाको अवधीमा चुक्ता पुँजि साढे दुई गुणा बढाउने निर्णय अव्यवहारिक भएको र यसलाई सच्याउन माग गरेका छन् ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई अघि बढ्न निर्देशन दिँदै कुनै अप्ठेरो आइपरेमा सहजिकरण गर्ने आश्वासन दिएका छन् । बीमा कम्पनीका अध्यक्षहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले वर्षदिनमा चुक्ता पुँजि तोकिएको पाँच अर्ब पुर्याउन दिशामा काम गर्न सुरु गरेपछि बीचमा आईपरेका अप्ठेराहरु फुकाउने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष सिलवालले जीवन बीमा कम्पनीहरुले जुनसुकै विधिबाट पाँच अर्ब चुक्ता पुँजि पुर्याउन सक्ने र मर्जरका लागि कुनै प्रकारको दवाव नदिने बताएका छन् ।

हिजो अपरान्ह बीमा समितिको आयोजनामा काठमाडौंमा सम्पन्न भएको छलफलमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल तथा सबै निर्देशकहरु, बीमा कम्पनीका अध्यक्षहरु प्रमुख लगानीकर्ता मध्ये एक जना तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेका थियो ।

हिजो भएको उत्साहप्रद छलफलमा बीमा समिति समक्ष बीमा कम्पनीका अध्यक्षहरुले नौ महिनाभित्र चुक्ता पुँजि २५० प्रतिशत बृद्धि गरी पाँच अर्ब पुर्याउने महत्वाकांक्षी लक्ष्य प्राविधिक रुपले समेत कठिन रहेकोले यसलाई सच्याउन सुझाव पेश गरेका छन् । कार्यक्रममा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष रामहरि अर्यालले बीमा समितिले जसरी पनि नौ महिनाभित्रैमा चुक्ता पुँजि पुर्याउनु पर्ने व्यवस्था असम्भव रहेको भन्दै सच्याउन माग गरेका छन् । कार्यक्रममा अध्यक्ष अर्यालले जस्तै युनियन लाइफ तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोरञ्जन शर्माले पनि बीमा समितिले तोकेको नौ महिनाको समयसीमा अव्यवहारिक रहेको गुनासो गरेका छन् ।

कार्यक्रममा जीवन बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुले देशमा तरलता संकट, शेयर बजार खस्किएको अवस्थाले तोकिएको समयमा चुक्ता पुँजि बृद्धि गर्न कठिन रहेकोले बीमा समिति व्यहारिक हुनुपर्ने धारणा राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*