विद्युत बिक्री आम्दानी बढ्दा घलेम्दी हाइड्रोपावरको नोक्सानी घट्यो
काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नोक्सानी घट्न पुगेको छ ।
गत आवको यसै अवधिसम्म २ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको हाइड्रोपावरले यस अवधिसम्म नोक्सानी कम गरेर १ करोड ६ लाख रुपैयाँ पुर्याएको छ । यस अवधिसम्म हाइड्रोपावरको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । यसकारण पनि कम्पनीको नोक्सानी कम भएको हो ।
यता, कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी भने ८०.७९% ले बढाएर ३ करोड १० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले १ करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । हाल यसको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ ।
यस्तै, रिजर्भ कोष भने ९१ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा नोक्सानमा रहेको घलेम्दीको प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ३४ पैसा रहेको छ ।