निर्माण व्यवसायी र सरकारबीचको दोस्रो बैठक निष्कर्ष बिनै टुंगियो

२२ बैशाख २०७९, बिहीबार ११:३९

काठमाडौं । निर्माण व्यवसायी र सरकारबीचको दोस्रो बैठक निष्कर्ष बिनै टुंगिएको छ। नेपाल निर्माण व्यवसायी महासंघ र मुख्यसचिवसहित बुधबार भएको दोस्रो बैठक बिना निष्कर्ष टुंगिएको हो।

तर छलफल भने सकारात्मक रुपमा अगाडि बढेको महासंघका एक सदस्यले जानकारी दिए। महासंघका एजेण्डामा पुनः छलफलका लागि शुक्रबार अर्को बैठक राखिएको छ।

महासंघले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, ननट्यारिफ विजनेस, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु सच्याउनुपर्ने लगायतको माग राख्दै गत वैशाख ८ गतेदेखि कन्स्ट्रक्सन होलिडे थालेका छन्। देशभर अहिले निर्माणका काम ठप्प छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा दैनिक धर्ना दिँदै आएको महासंघले प्रधानमन्त्री निवास अगाडि धर्ना दिने घोषणा गरेसँगै सरकारले वार्ताका लागि बोलाएको थियो। महासंघको उक्त मागको विषयमा यसअघि वैशाख १६ गते मुख्यसचिव सहितको टोलीसँग महासंघका अध्यक्षसहितको ५ सदस्यीय टोलीले छलफल गरेको थियो।
सो समयमा महासंघको मागका विषयमा बुझेको मुख्यसचिवको टोलीले आन्तरिक छलफल गर्ने भन्दै बुधबार फेरि छलफलका लागि बोलाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*