खराब कर्जा बढेसँगै एनएमबी लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिना अवधिसम्म १० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा १६.७५ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिसम्म संस्थाले १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घट्न पुगेको छ । यसकारण पनि संस्थाको नाफा घट्न पुगेको हो । खुद ब्याज आम्दानी ०.८३ प्रतिशतले घटेर ३३ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा १६.३६ प्रतिशतले घटेर १६ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ ।
यस अवधिसम्म संस्थाको खराब कर्जा समेत ह्वात्तै बढ्न पुगेको छ । गत आवका ०.५९ प्रतिशत रहेको खराब कर्जा यस अवधिसम्म बढेर ४.०६ प्रतिशत पुगेको छ ।
त्यस्तै, समिक्षा अवधिसम्म संस्थाले २ अर्ब ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
संस्थाको चुक्तापुँजी २१.५० प्रतिशतले बढेर ६५ करोड ५८ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार १७.६९ प्रतिशतले बढेर ३४ करोड ५२ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी ९.८४ रुपैयाँ घटेर २१.४३ रुपैयाँमा सीमित हुन पुगेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १५२.६४ रुपैयाँ पुगेको छ ।