खराब कर्जा बढेसँगै समता घरेलु लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ४९% ले बृद्धि
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
आज प्रकाशित चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १८.७५ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिसम्म लघुवित्तले ६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपनि संस्थाको खराब कर्जा ह्वात्तै बढ्न पुगेको छ । यसकारण संस्थाको नाफामा गिरावट आएको हो ।
खुद ब्याज आम्दानी ३६.६९ प्रतिशतले बढेर १५ करोड ९१ लाख रुपैयाँ र संचालन नाफा २९.१४ प्रतिशतले बढेर १ करोड ८३ लाख रुपैयाँ पुगेको छ । साथै गत आवको यस अवधिम्म ०.०२% ऋणात्मक रहेको खराब कर्जा यस अवधिसम्म बढेर ३.७५% पुगेको छ ।
त्यस्तै चालु आवको ९ महिनासम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ३ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, संस्थाले १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ४९.४५ प्रतिशतले बृद्धि भएर ३४ करोड २७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार समेत २ं०.३० प्रतिशतले बढेर १६ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रतिशेयर आम्दानी २०.३८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ यस अवधिम्म १४७.३९ रुपैयाँ पुगेको छ ।