७३% लाभांश वितरण गरेको जीवन विकास लघुवित्तको नाफा ५७ करोड रुपैयाँ माथी, इपिएस कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ५७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा २.४२ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा लघुवित्तले ५६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवैमा उल्लेख्य बृद्धि भएको छ । यसकारण पनि संस्थाको नाफामा सुधार देखिएको हो ।
खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड ६९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १०५.७६ प्रतिशतले बढेर ६० करोड २६ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको यस अवधिसम्म चुक्तापुँजी १५१.८५ प्रतिशतले बृद्धि भई १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने संस्थाको रिजर्भको आकार समेत १२.९४ प्रतिशतले बृद्धि भई १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ संचित रहेको छ ।
संस्थाले चालु आवको चैत मसान्तसम्ममा ९ अर्ब ८२ करोड रुपैयाँ सापटी लिई २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, ९ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी ७४.४६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २४७.८९ रुपैयाँ रहेको छ । यस अवधिसम्म लघुवित्तको खराब कर्जा ०.८३% रहेको छ ।
लघुवित्तले आव २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरलाई ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ७३ प्रतिशत लाभांश वितरण गरेको छ । उत्कृष्ट लाभांश वितरणका बावजुत पनि लघुवित्तले नाफामा सुधार गरेको छ ।