तीन बीमा कम्पनीको साधारण सभा हुँदै, कसले कति लाभांश दिदैछ ?

१९ बैशाख २०७९, सोमबार १०:२६

काठमाडौं । चालु आर्थिक वर्षमा लगभग ९० प्रतिशत भन्दा बढी जीवन तथा निर्जिबन बीमा कम्पनीहरुको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ । यस्तैमा अब एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भने यहि वैशाखको अन्तिमतिर क्रमशः बस्ने भएका छन् ।

एभरेष्ट इन्स्योरेन्सको यहि वैशाख २१ गते, युनियन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते र सगरमाथा इन्स्योरेन्सको वैशाख २८ गते बस्नेछ । जससध्ये दुई निर्जिबन बीमा कम्पनी एभरेष्ट र सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभाांश प्रस्ताव सहित विभिन्न एजेण्डाहरु प्रस्ताव पारित गर्नेछन् भने युनियन लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश घोषणा गरेको छैन ।

१. एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्ताइसौँ वार्षिक साधारण सभा वैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौँमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १२ गते बुकक्लोज गरेको थियो ।

त्यसैले, वैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको पच्चीसौँ वार्षिक साधारण सभा वैशाख २८ गते, बुधबार, लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, वैशाख १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथोँ वार्षिक साधारण सभा वैशाख २३ गते टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेको थियो । यसअनुसार वैशाख १२ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने÷गाभिने लगायतका प्रस्तावहरू पारित गरिनेछन् । कम्पनीले सर्वसाधारणहरुमा आइपीओ जारी गरेको लगभग एक वर्ष भएको छ । यसकारण कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*