आँखुखोला जलविद्युत कम्पनीको नाफामा उल्लेख्य प्रगति, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्म उल्लेख्य खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको विवरणअनुसार गत आवको तुलनामा चालु आवको चैत मसान्तसम्ममा खुद नाफा १६८ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६८.५७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १७.५३ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा १२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.८० प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने अन्य इक्विटी ६.२८ प्रतिशत घटेको छ । खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ १९ पैसा बढेर ५ रुपैयाँ ८ पैसा पुगेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.४ गुणा रहेको छ ।