जीडीपीमा बीमाको योगदान घट्यो, बीमा–बैंकिङ्ग क्षेत्रको बृद्धिदर ६ प्रतिशत माथि

१८ बैशाख २०७९, आईतवार १३:०९

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८।०७९ मा बीमा तथा बैकिङ्ग क्षेत्रको बृद्धि ६ प्रतिशत भन्दा माथि हुने प्रक्षेपण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा लगभग २ प्रतिशतले बढी हो।

कोभिडको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण गएका दुई आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्रको वृद्धिदर खुम्चिएको अर्थविद्हरु बताँउछन् । कोभिडको जोखिम कम भएपछि मुलुकमा आर्थिक गतिविधि बढेका छन् । यसले बैंकिङ र बीमा क्षेत्रमा पनि सकारात्मक प्रभाव परेकाले चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदरमा घटेको थियो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत दुई आर्थिक वर्षमा बैंक वित्तीय र बीमा क्षेत्रको बृद्धिद्धर खुम्चिएको थियो। कोभिड–१९ को महामारीबाट बच्न सरकारले लगाएको लकडाउनका कारण आर्थिक गतिविधि रोकिएका कारण बीमा र बैकिङ्ग क्षेत्रको बृद्धिदर घटेको थियो । कोभिडको जोखिम कम भएपछि देशमा आर्थिक गतिविधिहरु विस्तारै बढिरहेका छन् ।

विभागको तथ्याङ्कअनुसार आर्थिक गतिविधि बढेसँगै चालु आवसम्म बीमा र बैकिङ्ग क्षेत्रमा पनि सकारात्मक प्रभाव परेकोले बृद्धिदर बढ्न पुगेको हो । गत आर्थिक वर्षमा ४.०५ प्रतिशत रहेको बीमा र बैकिङ्ग क्षेत्रको बृद्धिद्धर अघिल्लो आर्थिक वर्षमा शुन्य दशमलव ३५ प्रतिशत ऋणात्मक रहेको थियो ।

गएका दुई आर्थिक वर्षमा बीमा र बैकिङ्ग क्षेत्रको बृद्धिदरमा परेको नकारात्मक प्रभावका कारण मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी)घट्न पुगेको थियो । बीमा र बैकिङ्ग क्षेत्रको बृद्धिदर घटेसँगै यी दुवै क्षेत्रको जीडीपीमा योगदान खुम्चिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्क गणना गर्दा दुई आर्थिक वर्षअघिदेखि बैकिङ्ग क्षेत्रमा बीमा पनि समावेश गर्दै आएको छ । त्यसभन्दा अघिका वर्षहरुमा बीमा क्षेत्रलाई अन्य शीर्षकमा राखेर गणना गर्दै आएको थियो ।

दुई कोभिड आर्थिक वर्षमा सम्पूर्ण आर्थिक गतिविधि प्रभावित भएका थिए । चालु आर्थिक वर्षसम्म बीमा र बैकिङ्ग क्षेत्रको आर्थिक गतिविधी संचालन भएसँगै बृद्धिदरमा पनि सुधार देखिएको हो ।

आर्थिक वर्ष २०७४।०७५ मा वित्तीय मध्यस्थता क्षेत्रको बृद्धिदर ९.४३ प्रतिशत रहेको थियो । त्यस्तै, आव २०७५।०७६ सम्म बृद्धिदर खुम्चिएर ६.३५ प्रतिशतमा सीमित रहेको थियो ।

आव २०७६।०७७ मो बीमा र बैकिङ्ग क्षेत्रको बृद्धिदर ०.३५ प्रतिशत मात्रै रहेको थियो । उक्त आर्थिक वर्षमा कोभिड महामारीको चपेटाले मुलुकको आर्थिक गतिविधिहरु ठप्प रहेकोले बृदिदर ह्वात्तै घटेको थियो ।

आर्थिक वर्ष २०७७।०७८ सम्म आइपुग्दा उक्त वर्षको सुरुवाती महिनामा आर्थिक गतिविधि ठप्प रहेपनि त्यसयताका केही महिनामा बीमा र बैकिङ्ग क्षेत्रको आर्थिक गतिविधि संचालन भएसँगै बृद्धिद्धर बढेर ४.०५ प्रतिशत पुगेको देखिएको हो ।

त्यस्तै जीडीपी गणना गर्दा बैंक तथा वित्तीय मध्यस्थता क्षेत्रअन्तर्गत बीमा, बैकिङ्ग र सामाजिक सुरक्षा योगदान गरी तीन समुहमा विभाजन गरिएको छ । बैंकिङ्ग समुहभित्र राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त–लघुवित्त कम्पनी र सहकारी संस्थाको कारोबार समावेश रहेको हुन्छ । बीमा समुहअन्तर्गत बीमा समिति, जीवन बीमा र निर्जिबन बीमा कम्पनीको कारोबार समावेश हुन्छ ।

सामाजिक सुरक्षा योगदान समुहमा नेपाल धितोपत्र बोर्ड, कर्मचारी संचय कोष, नागरिक लगानी कोष पर्दछन् । यी तिन समुहको बृद्धिका आधारमा समग्र वित्तीय मध्यस्तता क्षेत्रको बृद्धिदर निकालिन्छ ।

आर्थिक वर्ष २०७८।०७९ को जीडीपीमा वित्तीय मध्यस्तता क्षेत्रको योगदानमा भने केही कमी आउने देखिएको छ । बैकिङ्ग र बीमा क्षेत्रको बृद्धिदर राम्रै भएतापनि सेवा क्षेत्रअन्तर्गत पर्ने होटल तथा रेस्टुरा र पर्यटनलगायतको बृद्धिदर धेरै रहेको छ । यसकारण बैकिङ्ग र बीमा क्षेत्रको कुल गार्हस्थ उत्पादन योगदानमा गत आवको तुलनामा कमी आउने देखिएको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षमा जीडीपीमा वित्तीय मध्यस्तता क्षेत्रको योगदान ६.८६ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षमा यस्तो योगदान ७.०१ प्रतिशत रहेको थियो । तुलनात्मक रुपमा अरु क्षेत्रको योगदान बढेकाले बैकिङ्ग र बीमा क्षेत्रको योगदान घटेको विज्ञहरुको भनाई रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*