धौलागिरी लघुवित्तको नाफामा उल्लेख्य प्रगति, रिजर्भको आकार ५७% ले बढ्यो
काठमाडौं । धौलागिरी लघु्वित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उत्कृष्ट सुधार देखिएको छ ।
चालु आवको चैत मसान्तसम्ममा संस्थाले २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ४१.६४ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा लघुवित्तले १ करोड ६४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको ९ महिनासम्ममा संस्था खुद ब्याज आम्दानी २६.१० प्रतिशतले बढेर ७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यता संस्थाको संचालन मुनाफा भने २६.७३ प्रतिशतले घटेर १ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । यसकारणले संस्थाको यस अवधिसम्ममा भनेजस्तो उल्लेख्य मुनाफा आर्जन नभएको संस्थाले जनाएको छ ।
समिक्षा अवधिसम्ममा संस्थाको चुक्तापुँजी ७ करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार ५७.५५ प्रतिशतले बढेर १० करोड ६८ लाख रुपैयाँ संचित गरेको छ ।
साथै यस अवधिसम्ममा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ६१ करोड १३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, ६५ करोड ३१ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ ।
त्यस्तै. यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी १३.०६ रुपैयाँ बढेर ४४ रुपैयाँ ४२ पैसा पुगेको छ । त्यस्तै खराब कर्जा बढेर ४.९५ प्रतिशत पुगेको छ ।