यो साता शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । आईतबार कारोबारले थप साथ दिएर सुरु भएको कारोबार साताको अन्तिम दिनमा उल्लासमय भने रहेन । आइतबारकै अवस्थाले बजार थामिने स्थिति भने बनेको छ। साताभरको अवस्थामा ३०.६९ अंकको वृद्धि भएको छ। यो साताको अन्तिम दिन बिहीबार ४.९० अंकले बढेर २३२५.४५ बिन्दुमा रोकिएको थियो।
आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंकमा पुगेर रोकिएको थियो। सोमबार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ बिन्दुमा झरेको थियो। मंगलबार १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा झरेको थियो। बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ बिन्दुमा पुगेको थियो।
चुनावी माहोल बढ्दै गएको अवस्थाका साथै सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन।
वाणिज्य बैंकहरूमा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो।चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको छैन। अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। यो साता नेप्सेमा ६ कमपनीको शेयर सूचीकृत भएको छ।