संचालन आम्दानीमा सुधार आएसँगै चन्द्रागिरी हिल्सको घाटामा कमी
काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले आफ्नो घाटा घटाएको छ ।
अघिल्लो आर्थिक वर्षमा १८ करोड ११ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले यस अवधिसम्म २ करोड ९४ लाख रुपैयाँ घाटामा रहेको छ । कोरोना भाइरसको प्रभाव हुँदै गएकोले घाटामा कमी आएको कम्पनीले जनाएको छ ।
त्यस्तै यस अवधिसम्म कम्पनीले ४२ करोड ३ लाख रुपैयाँ संचालन आम्दानी गरेको छ । गत वर्षको यसै अवधिसम्म कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ संचालन आम्दानी गरेको थियो । यस अवधिसम्म कम्पनीको संचालन आम्दानीमा बृद्धि भएसँगै कम्पनीको घाटामा कमी आएको हो ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९२ पैसा ऋणात्मक रहेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म कम्पनीको इपिएस ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको थियो । त्यस्तै, प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ७० पैसा रहेको छ ।