वर्ष दिनभित्र तोकिएको पुँजि पुर्याउन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन

१५ बैशाख २०७९, बिहीबार २१:५०

काठमाडौं । बीमा समितिले आगामी एक वर्षभित्रमा तोकिएको चुक्ता पुँजि पुर्याउन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिले आज नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीका सञ्चालक, अध्यक्ष तथा सिईओलाई बोलाएर गरेको छलफलमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले बीमा समितिले सबै कम्पनीहरुलाई पुँजि बृद्धि गर्न निर्देशन दिइसकेकोले कम्पनीहरुले बुझाएको कार्ययोजना अनुसार पुँजि बृद्धिका लागि काम गर्ने निर्देशन दिएका हुन् । बीमा समितिले सबै कम्पनीहरुलाई कार्ययोजना बमोजिम पुँजि बृद्धि गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष सिलवालले जनाउँदै कम्पनीहरु पनि इमान्दारपूर्वक चुक्ता पुँजि बृद्धिका लागि काम गर्न सञ्चालक तथा अध्यक्ष र सिईओहरुलाई आग्रह गरेका छन् ।

आजको छलफलमा बीमा कम्पनीका सञ्चालक तथा अध्यक्षहरुले बीमा समितिले भनेको जस्तो मर्जर सजिलो र सहज नभएको भन्दै मर्जर बाहेकका विकल्पहरुका लागि पनि बीमा समितिले आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका थिए । छलफलमा लामो समयसम्म मर्जरका प्रयास भएर पनि असफल भएको नेको र प्रिमियर इन्स्योरेन्स कम्पनीको उदाहरण दिँदै एक जना सञ्चालकले भने, ‘मर्जर भनेको त्यति सजिलै एउटै निर्णयबाट हुने कुरा होइन, सञ्चालक समिति, शेयर होल्डर तथा साधारणसभाबाट पारित हुनुपर्ने भएकोले वर्षदिनमै यो सम्भव छैन ।’

अधिकांश सञ्चालक तथा शेयरधनीका प्रतिनिधिहरुले चुक्ता पुँजि बृद्धि गर्ने बीमा समितिको निर्णय सही भएपनि वर्षदिनको समयसीमा अव्यवहारिक भएको र लागू गर्न असम्भव भएको गुनासो गरेका थिए ।

अपरान्ह ३ः३० बजेदेखि सुरु भएको छलफल साँझ अबेरसम्म चलेको थियो । आजको छलफलमा बीमा समिति र सञ्चालक तथा बीमा कम्पनीका अध्यक्षहरुका बीचमा खुलेर छलफल भएको तथा अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको सो छलफलमा सहभागी एक सञ्चालकले बीमापोष्टलाई जानकारी दिए ।

 

पुँजि बृद्धिको नाममा बीमा समितिले हठात मर्जरमा लैजाने भयबाट अत्तालिएका थिए । आजको छलफलमा खुलेर छलफल भए पश्चात निकै सजिलो महसुस गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

 

बीमा समितिका अध्यक्ष सिलवालले पुँजि बृद्धिका लागि समय थप नहुने भएकोले समयसीमाभित्र रहेर इमान्दार कार्यान्वयन गर्न निर्देशन दिएका छन् भने बीमा कम्पनीका सञ्चालकहरुले चैत्र मसान्तभित्रमा मर्जरबाट पुँजिबृद्धि सम्भव नभएको भन्दै समयसीमाबारे लचक हुनुको विकल्प नभएको सुझाव अघि सारेका छन् ।

 

कार्यक्रममा बीमक संघका अध्यक्ष चंकी क्षेत्रीसहितका अधिकांश निर्जिवन बीमा कम्पनीका सिईओहरु, सबै निर्जिवन बीमा कम्पनीका अध्यक्षहरु केही बाहेक, मुख्य मुख्य सञ्चालक तथा उनीहरुका प्रतिनिधिहरुले भाग लिएका थिए ।

 

हाल एक अर्ब चुक्ता पुँजि भएका सबै निर्जिवन बीमा कम्पनीहरुलाई बीमा समितिले आगामी चैत्र मसान्तभित्रमा दुई अर्ब ५० करोड पुर्याउनु पर्ने नयाँ निर्देशिका जारी गरिसकेको छ । सो निर्देशिका बमोजिम बीमा कम्पनीहरुले चुक्ता पुँजि बृद्धि गर्ने आफ्नो कार्ययोजना बीमा समितिमा पेश गरिसकेका छन् । बीमा समितिले कम्पनीहरुले बुझाएको कार्ययोजनाको सम्बन्धमा मुख्य शेयर लगानीकर्ता, कम्पनीका अध्यक्ष र सिईओका बीचमा समान बुझाई होस् भन्ने उद्देश्यले छलफल आयोजना गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*