आजबाट गाडी आयात गर्न प्रतिबन्ध, रक्सी, मोबाईल र खेलौना ल्याउन नपाइने

१४ बैशाख २०७९, बुधबार ०९:५१

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि १० वटा विलासी बस्तु आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका हलुका सवारी साधनहरु एम्बुलेन्स र शव बाहन बाहेकमा पूर्ण प्रतिबन्ध लगाएको छ । नयाँ व्यवस्था अनुसार अब कुनै पनि कार, जिप, भ्यान जस्ता हलुका सवारी साधनहरु आयात गर्न पाइने छैन । सार्वजनिक प्रयोगका ठूलो बस तथा ढुवानीका साधन ट्रकहरु भने आयात गर्न पाइने छ ।

देशको ढुकुटीमा विदेशी मुद्रा संचिती घट्दै गएपछि सरकारले यस्तो कदम चालेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकलको आयातमा समेत आंशिक रोक लगाइएको छ । नयाँ व्यवस्था अनुसार २५० सिसी भन्दा माथिका मोटरसाइकल आयात गर्न पाइने छैन ।

राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) को उद्देश्य प्राप्त गर्न सम्वत २०७९ साल असार मसान्तसम्मका लागि देहाय बमोजिमका बस्तुहरु पूर्ण पूर्ण बन्देज लगाएकोले यो सूचना प्रकाशित गरिएको छ ।’

आयात प्रतिबन्ध लगाइएको मालबस्तुहरु निम्न छन्:

१ कुरकुरे, कुरमुरे, लेज तथा यस्तै उत्पादनहरु,

२. सबै प्रकारका तयारी मदिरा,

३. चुरोट, सुर्ति तथा सूर्तिजन्य कच्चा बस्तुहरु,

४ हिरा (औद्योगिक कच्च पदार्थ बाहेक)

५. ६०० अमेरिकी डलर भन्दा बढि मूल्य पर्ने मोबाईल सेटहरु,

६. सबै प्रकारका खेलौनाहरु

७. खेल्ने तास

८. रंगिन टेलिभिजन ३२ इन्च भन्दा ठूलो आकारका

९. मोटरसाइकल २५० सिसी भन्दा बढिका

१०. जीप, कार, भ्यान एम्बुलेन्स र शव बाहन बाहेक

 

२०७९ साल असार मसान्तसम्म पैठारीमा पूर्ण बन्देज लगाएको सूचना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*