हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्ने राष्ट्र बैंकको निर्णय

शेयर बिक्री गर्न नपाउने, लाभांश वितरणमा प्रतिबन्ध, सञ्चालकलाई स्पष्टिकरण
१४ बैशाख २०७९, बुधबार ०८:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रिया भाँडेको भन्दै हिमालयन बैंक र नेपाल राष्ट्र बैंकलाई कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले हिमालयन बैंकलाई पठाएको पत्रमा आधारभूत शेयरधनीको लाभांश रोक्का राख्न, आधारभूत शेयरधनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का, तत्कालै अर्को वित्तिय संस्था खोजेर मर्जरमा जानुपर्ने बाध्यकारी निर्देशन लागू गर्न भन्दै पत्राचार गरेर कारवाही गरेको छ ।

 

नेपाल राष्ट्र बैंकले बिग मर्जर स्वरुप दुई बैंकलाई आपसमा गाभ्न चाहेको थियो । तर, साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्ताव असफल भएपछि केन्द्रीय बैंकले दुवै संस्थालाई कारवाही गरेको छ । साथै प्रस्ताव फेल गराउने हिमालयन बैंकका सञ्चालकलाई स्पष्टिकरण समेत माग गरेको छ । मर्जरमा जाने भएपछि एक वर्षदेखि शेयर कारोबार रोक्का छ ।

 

केही महिना पहिले हिमालयन बैंकको गत पुस ३० गते बसेको साधारणसभाबाट मर्जर अस्वीकृत गरेसँगै नेपालको बैंकिङ क्षेत्रको बिग मर्जर भाँडिएको थियो । हाल डिमर्जरको प्रक्रिया अघि बढिसकेको छ । मर्जर भाँडिएसँगै गभर्नर महाप्रसाद अधिकारी हिमालयन बैंकसँग रुष्ट बन्दै आएका थिए ।

 

राष्ट्र बैंकको कारवाहीसँगै बैंकका सर्वसाधारण शेयरधनीहरुको शेयर खुल्ला हुनेछ भने संस्थापक शेयरधनीहरुको कारोबार बन्द नै रहनेछ । त्यस्तै सर्वसाधारण शेयरधनीहरुले लाभांश पाउनेछन् भने संस्थापक शेयरधनीहरुको लाभांश रोकिने छ । राष्ट्र बैंकले तत्कालै अर्को संस्था खोजेर मर्जरमा जान निर्देशन दिएपनि भर्खरै मर्जर भाँडिएकोले उक्त कुरा सम्भव भने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*