१९ जीवन बीमा कम्पनीले चैत्र महिनामा संकलन गरे तीन अर्ब, कसको घट्यो, कसको बढ्यो ?

१४ बैशाख २०७९, बुधबार ०७:०९

काठमाडौं । चालु आवको चैत्र महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले झण्डै तीन अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले चैत्र महिना दुई अर्ब ९८ करोड ५१ लाख १० हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेका छन् । बीमा समितिले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत महिना अर्थात फागुन महिनाको तुलनामा ८ प्रतिशतले बृद्धि भएको छ । फागुन महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुले दुई अर्ब ७५ करोड १५ लाख ७७ हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेका थिए ।

चैत्र महिनामा नेपाल लाइफ सबैभन्दा अगाडि छ । यद्यपि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क फागुन महिनाको तुलनामा ११.५७ प्रतिशतले घटेको छ । दोस्रो नम्वरमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क ३० प्रतिशतले बृद्धि भएको छ । केही समयदेखि लगातार प्रगति गर्दै गएको नेशनल लाइफको प्रथम बीमा शुल्क बृद्धि भएको हो ।

त्यस्तै, एलआईसी नेपालले फागुन महिनाको तुलनामा चैत्र महिनामा आफूलाई सुधार गरेर १७ प्रतिशतले प्रथम बीमा शुल्क आम्दानी बढाउन सफल भएको छ । गत महिनामा २१ करोड पाँच लाख चार हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेकोमा चालु चैत्र महिनामा २४ करोड ६८ लाख सात हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

 

त्यस्तै चैत्र महिनामा आर्जित प्रथम बीमा शुल्कको आधारमा चौथो नम्वरमा रहेको एशियन लाइफले २२ करोड ७७ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । फागुन महिनाको तुलनामा कम्पनीको प्रथम बीमा शुल्क ९४.४२ प्रतिशतले बृद्धि भएको छ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १९ करोड ९८ लाख २२ हजार रुपैयाँ प्रथम बीमा शुल्क चैत्र महिनामा आम्दानी गरेको छ । गत फागुनमा १५ करोड रुपैयाँ थियो कम्पनीको प्रथम बीमा शुल्क आम्दानी अघिल्लो महिनाको तुलनामा २८.६७ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, सन नेपाल लाइफले १९ करोड ८१ लाख प्रथम बीमा शुल्क आम्दानी गरेको छ । गत फागुन १८ करोड प्रथम बीमा शुल्क आम्दानी गरेको कम्पनीको यस्तो आम्दानी ४.५३ प्रतिशतले बृद्धि भएको छ ।

चालु आवमा चमत्कारिक व्यवसाय गर्दै अघि बढेको सिटिजन लाईफको चैत्र महिनाको प्रथम बीमा शुल्कमा भने केही घटेको छ । फागुन २४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेकोमा चैत्र महिनामा १८ करोडमा सीमित हुन पुगेको छ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क चैत्र महिनामा २७.१७ प्रतिशतले घट्न पुगेको छ । फागुन १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको प्रथम बीमा शुल्क चैत्रमा जम्मा १४ करोड ३६ लाखमा सीमित हुन पुगेको छ ।
रिलायबल नेपाल लाइफले चैत्र महिनामा ३०.९३ प्रतिशतले प्रथम बीमा शुल्क आम्दानी घटेको छ । कम्पनीले फागुन महिनामा १९ करोड रुपैयाँ आम्दानी गरेकोमा चैत्र महिनामा १३ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।
युनियन लाइफले चैत्र महिनामा १३ करोड ३१ लाख प्रथम बीमा शुल्क आम्दानी गरेको छ । गत आवमा कम्पनीले १४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको थियो ।

मेट लाइफका प्रथम बीमा शुल्क १२ करोड ३३ लाख रुपैयाँ छ । कम्पनीको प्रथम बीमा शुल्क आम्दानी सामान्य घटेको छ । त्यस्तै प्राइम लाइफको प्रथम बीमा शुल्क फागुन महिनाको तुलनामा २० प्रतिशतले बृद्धि भएको छ । आईएमई लाइफको प्रथपम बीमा शुल्क ३०.७८ प्रतिशतले बृद्धि गरी नौ करोड ७४ लाख पुर्याउन सफल भएको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क ७५ प्रतिशतले बृद्धि गरी सात करोड ३३ लाख पुर्याउन सफल भएको छ । महालक्ष्मी लाइफ यसअघि सबैभन्दा पुछारमा रहँदै आएकोमा विस्तार सुधार हुँदै अघि बढेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क ७४.११ प्रतिशतले बृद्धि भई चार करोड ८४ लाख पुर्याउन सफल भएको छ । सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्क आम्दानी चार करोड १३ लाखमा सीमित भएको छ । कम्पनीको प्रथम बीमा शुल्क ६.९७ प्रतिशतले घटेको छ ।

प्रथम बीमा शुल्कले बीमा कम्पनीहरुको जीवन बीमा कोषमा खासै ठूलो योगदान नपुर्याए पनि व्यवस्थापन खर्च तथा अन्य खर्चहरुका लागि निकै महत्वपूर्ण छ । प्रथम बीमा शुल्कको आधारमा व्यवसायको विस्तार र संकुचन अनुमान लगाउन मात्रै सकिन्छ । जीवन बीमा कम्पनीहरुको एक महिनाको तथ्याङ्क विश्लेषण गरेर ठोस अन्तिम निष्कर्ष भने निकाल्न मिल्दैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*