अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले वैशाख २२ देखि साढे १३ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । एकपछि एक गर्दै आइपीओ निष्काशन भइरहेको बेला अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । सो शेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा जेठ ५ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ २० गतेसम्म लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।