बीमा क्षेत्रले बिर्सन नसक्ने वैशाख १२, भुकम्प गएको बिर्सियौं, बीमा गर्न नबिर्सौ

मनिष सोती
१२ बैशाख २०७९, सोमबार १८:४३

काठमाडौं । वैशाख १२ गते शनिबारको दिन थियो, एकाएक जमिन हल्लिन थाल्यो, घरहरु भत्किन थाले, पहाडहरुमा पहिरो जान थाले भने सडकमा गुडिरहेको सवारी साधनहरु आपसमा र दाया बायाँ ठोक्किर दुर्घटनामा परे । चारैतिर धुवाको मुस्लो उड्यो अनि मानिसहरुको कोलाहल सुनिन थाल्यो ।

२०७२ बैशाख १२ गतेको गएको विनाशकारी भुकम्पको दृष्य हो यो । नेपाल मात्रै नभएर सिंगै दक्षिण एसिया हल्लिएको भुकम्पमा भारतमा समेते केही सय मानिसको ज्यान गयो, कैयौं घरहरु भत्किए भने भुटान र बंगलादेशसम्म भुकम्पको धक्का पुग्यो । चीनतर्फ पनि केही मानिसहरु मरेर धनजनको क्षति भएको बिनाशकारी बैशाख १२ ले नेपाली बीमा क्षेत्रलाई जोखिम रक्षावरण सम्बन्धी ठूलो पाठ सिकाएर गएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको सातौं स्मृति दिवस आज मनाइँदैछ । सम्पूर्ण नेपालीले बिर्सन नसक्दे दिन हो आज अर्थात वैशाख १२ । वि.सं.२०७२ वैशाख १२ गते मध्यान्ह ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको आज ७ वर्ष पुरा भएको छ ।

भूकम्पले गोरखा, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । यसै १४ जिल्लालाई सरकारले अति प्रभावित जिल्ला भनि घोषणा समेत गरेको थियो । घनाबस्ती भएको राजधानी काठमाडौंबासीले पुरै पिङ् खेले । भुकम्पपछि गएको हजारौं परकम्पले करिब वर्षदिन भुकम्पमय भयो ।

तथ्यांक अनुसार उक्त भूकम्पबाट ९ हजार मानिसको मृत्यु भएको थियो । अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लामा गरी भूकम्पबाट कुल ७ लाख ५५ हजार भन्दा बढी निजी घरहरुमा क्षति तथा नोक्सानी हुन पुगेको थियो । त्यसमध्ये ४ लाख ९८ हजार भन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएका थिए भने २ लाख ५६ हजार भन्दा बढी घरहरु आंशिक रुपमा क्षति भएका थिए । २०७२ सालको महाभूकम्पका कारण ठूलो मात्रामा मानवीय र भौतिक क्षति समेत हुन पुगेका कारण नेपाली बीमा क्षेत्र मात्रै नभएर विश्वकै बीमा क्षेत्रले बैशाख १२ लाई बिर्सन सक्दैनन् ।

२०७२ बैशाख १२ मा गएको भुकम्पबाट निर्जीबन बीमातर्फ त झनै ठूलो क्षति गरेको थियो । अनौपचारिक तथ्याङ्क अनुसार बिनाशकारी भुकम्पका कारण सात खर्ब ६ अर्ब बराबरको क्षति भएको थियो । सो क्षति मध्ये धेरै कम मात्रामा बीमा भएको भएपनि बीमा क्षेत्रमा ठूलो मात्रामा दावी भुक्तानी गर्नु परेको थियो । त्यतिबेलाको बीमा समितिले कडा नियमन तथा बीमा कम्पनीहरुले आफ्ना बीमाहरु पुनर्बीमा गरेकोले थला पर्ने गरी कुनै पनि कम्पनीहरु अप्ठेरोमा त परेनन् तर दावी भुक्तानीमा ठूलो रकम व्यहोर्नु पर्यो ।

आव २०७२।०७३ सम्ममा विभिन्न पोर्टफोलियो जस्तै अग्नि, मोटर, सामुन्द्रिक, ईन्जिनियरिङ्ग तथा विविध गरी जम्मा ११ हजार ६२३ वटा दाबी योग्य बीमा परेको थियो । भुकम्पबाट कुल १३ अर्ब २६ करोड ५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी भएको थियो ।

बीमा समितिले तयार पारेको रिपोर्टका अनुसार निर्जिबन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७२।०७३ मा चार अर्ब १५ करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी भएको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७१।०७२ को तुलनामा ४०.२३ प्रतिशतले बढी थियो । आव २०७१।०७२ मा दुई अर्ब ९६ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी परेको थियो । भूकम्प आएको आर्थिक वर्षभित्रै निर्जिबन बीमा ब्यबसायबाट खुद दाबी भुक्तानी ४० प्रतिशतले बढेको थियो ।

त्यस्तै, आव २०७०।०७१ मा दुई अर्ब २८ करोड रुपैयाँ दाबी भुक्तानी भएकोमा सो रकम बढेर आव २०७४।०७५ मा छ अर्ब ३२ करोड रुपैयाँ पुगेको थियो । आव २०७३।०७४ मा दाबी भुक्तानी तीन अर्ब आठ करोड पुगेतापनि आव २०७४।०७५ मा ह्वात्तै बढेको थियो । आव २०७२।०७३ मा भूकम्पका कारण दाबी अत्याधिक बढेकोले दाबी भुक्तानीमा तीव्र बृद्धि भएको हुँदा सो आवको तुलनामा आव २०७३।०७४ को बृद्धिद्धर ह्वात्तै बढेको थियो ।

उक्त विनाशकारी भूकम्पबाट २०७४ सालसम्म भौतिक संरचना र सम्पत्ति क्षति भई दाबी परेका बीमितमध्ये ९८ प्रतिशतको दाबी भुक्तानी गरिसकिएको थियो भने बाँकी त्यसपछि मात्रै भुक्तानी भएको थियो । निर्जीवन बीमा कम्पनीमा परेको कुल दाबीमध्ये २०७४ सालको असोज मसान्तसम्ममा ती बीमितले क्षतिपूर्ति पाइसकेको समितिको तथ्याङ्कले देखाएको छ ।

विकसित मुलुकमा विभिन्न प्राकृतिक प्रकोपको दाबी भुक्तानी गर्न एक दशकसम्म लाग्ने गरे पनि नेपालमा भने भूकम्पको दाबी भुक्तानी छिटै भएको बीमा समितिको तथ्याङ्कले देखाएको छ । अमेरिकामा सेप्टेम्वर ११ मा भएको आतंकवादी हमलाको दावी भुक्तानी  १० वर्षसम्म गरिएको थियो । भूकम्पपछि क्षतिपूर्तिको माग गर्दै विभिन्न निर्जीवन बीमा कम्पनीमा जम्मा १७ हजार ७ सय ९८ दाबी परेको थियो ।

समितिका अनुसार भूकम्पपछि दाबी गरिएका ठूला, विवादित र जटिल बीमाको दाबी संख्या करिब हजार रहेको छ । ठूला दाबी गर्नेहरूमा अपार्टमेन्ट, होटल, ठूला भवन, मिडिया हाउस, शपिङ मल, जलविद्युतलगायत कम्पनी रहेका थिए ।

आम बिनाशकारी भुकम्प गएको आज सात वर्ष पुगिसकेको छ । नेपालीहरुले भुकम्प गएको कुरा विस्तारै विर्सन थालिसकेका छन् । बीमा गर्ने बानी अझै विकास गरेर भुकम्पीय जोखिमबाट जनतालाई सुरक्षित राख्न सरकार, बीमा समितिले बैशाख १२ कै दिनमा पारेर विशेष अभियानहरु थाल्नुपर्ने देखिन्छ ।

धेरै मानिसहरु अझै पनि भुकम्पले चिरा चिरा भएको अपार्टमेन्ट तथा घरहरुमा बसिरहेका छन् । आम सर्वसाधारणमा अझै बीमाको सचेतना पुग्न बाँकी छ । बीमा समितिले स्थानीय सरकारसँग बीमा समिति नामक कार्यक्रम सञ्चालन गरेर देशैभरि बीमा सचेतना फैलाउने काम गरिरहेकोे छ । यो अझै पर्याप्त हुन सकेको छैन । बीमा समितिले मात्रै नभई बीमा कम्पनीहरुले समेत मिलेर सामूहिक रुपमा बीमा सचेतना फैलाउन एकजुट हुन ढिलाई गर्नुहुदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*